इंग्ल्याण्डलाई हराउँदै फाइनल पुगेर इतिहास रच्ने दाउमा क्रोएसिया

 असार २७, २०७५ बुधबार १२:५९:२५ | एजेन्सी
unn.prixa.net

जारी विश्वकपको फाइनल खेल रुसको मस्कोस्थित लुज्निकी रंगशालामा पाँच दिनपछि हुनेछ । तर, त्यसअघि दोस्रो सेमिफाइनलका रुपमा इंग्ल्याण्ड र क्रोएसिया आज राति यही मैदानमा भिड्दा अर्को खेल पनि यही रंगशालामा खेल्ने लक्ष्यमा रहन्छन् । यसको अर्थ जितको खोजीमा रहन्छन् दुवै टिम ।
 
इंग्ल्याण्डका विंगर एस्ले योङले भनेका छन् कि इंग्ल्याण्ड लुका मोड्रिचको बारेमा धेरै चिन्तित हुनुभन्दा पनि सेमिफाइनल खेलअघि आफ्नो क्षमतामा केन्द्रित हुनुपर्छ । सन् १९९० पछि इंग्ल्याण्ड पहिलो पटक विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको सेमिफाइनल खेल्दैछ । सन् १९६६ को विजेता इंग्ल्याण्डले त्यसपछि एक पटकमात्र सन् १९९० मा विश्वकपको सेमिफाइनल खेलेको थियो । जारी विश्वकपमा उसले स्विडेनलाई हराउँदै सेमिफाइनलाम पुगेको हो ।
 
युरोकप २००४ को समूह चरणको खेल छि ठूला प्रतियोगितामा इंग्ल्याण्ड र क्रोएसिया पहिलो पटक भिड्दैछन् । जहाँ इंग्ल्याण्डले ४–२ गोलअन्तरको जित दर्ता गरेको थियो । त्यसपछिका चार भेटमा दुवैले दुई–दुई पटक जितेका छन्, जहाँ नोभेम्बर २००७ को चर्चित ३–२ को जित पनि समावेश छ । क्रोएसियासँग पराजित भएपछि तत्कालीन स्टिभ म्याकलरेनको टोली इंग्ल्याण्ड सन् २००८ को युरोकपमा छनोट हुन असफल भएको थियो ।
 
वेम्बलेमा भएको त्यस खेलमा मोड्रिचले डेब्यू गरेका थिए र त्यसको ११ वर्षपछि उनी क्रोएसियाली टोलीको अभिन्न अंग बनेका छन् । क्रोएसियाका कप्तानसमेत रहेका उनलाई रुस विश्वकपकै सर्वोकृष्ट खेलाडीको रुपमा हेर्न थालिएको छ ।
 
तर, एस्ले योङ (जो सोमबार ३३ वर्षका भए)ले भनेका छन् कि इंग्ल्याण्डले अहिलेसम्म आफूले पाएको अनुभव र क्षमतामा ध्यान केन्द्रित गर्नुको सट्टा मोड्रिच, राकिटिचलाई रोक्नका लागि सबै रणनीति खर्च गर्ने हो भने व्यर्थ हुनेछ ।
 
‘उनीहरु त्यसै सेमिफाइनलमा आइपुगेका होइनन् ।’ उनले पत्रकार सम्मेलनमा भने, ‘हामीले लुका मोड्रिचलाई विशेष ख्याल गर्नुपर्छ, जो एक शानदार खेलाडी हुन्’, योङले भने । 
 
योङ भन्छन्, ‘उनीहरुसँग सबै पोजिसनमा स्तरीय खेलाडी फिट छन्, र पक्कै पनि उनीहरु बलियो प्रतिस्पर्धी हुन् । हामीले हाम्रो सबै शक्ति उनीहरुको चिन्तामा केन्द्रित गर्नुहुँदैन । हामीले आफ्नै क्षमतामा केन्द्रित हुनुपर्छ, जुन जारी विश्वकपमा यसअघिका खेलमा देखिएको छ ।’
 
क्रोएसियाले प्रि–क्वार्टरफाइनल र क्वार्टरफाइनलमा क्रमसः डेनमार्क र रुसलाई पेनाल्टी शुटआउटमा हराउँदै यस चरणमा पुगेको हो । इंग्ल्याण्डविरुद्धको खेल जितेमा उसले पहिलो पटक विश्वकपको फाइनलमा पुगेर नयाँ इतिहास बनाउनेछ । किनभने क्रोएसिया सन् १९९८ को डेब्यू विश्वकपमा तेस्रो भएको थियो ।
 
मिडफिल्डर इभान राकिटिचले भनेका छन् कि नकआउट चरणका दुई रोमाञ्चक खेलहरु जितेको क्रोएसिया इंग्ल्याण्डविरुद्ध राम्रो स्थितिमा छ । बार्सिलोना स्टार राकिटिचले फिफा टिभीसँग भनेका छन्, ‘हामीसँग सशक्त तागत छ र हामी मैदानमा एकत्रित छौँ । हामी सेमिफाइनलमा छौँ र गौरवान्वित छौँ । तर, हामी यही रोकिन चाहँदैनौँ । क्रोएसियाजस्तो सानो मुलुकका लागि यो अविश्वसनीय नतिजा हो ।’

म्याच फ्याक्ट्स

– सन् १९८२ यता इंग्ल्याण्ड एकै विश्वकपमा अहिलेसम्म दुई युरोपेली टोलीबाट पराजित भएको छैन । त्यतिबेला उसले चेकोस्लोभाकिया र फ्रान्ससँग पराजय ब्यहोरेको थियो ।
 
– इंग्ल्याण्डले जारी विश्वकपमा अहिलेसम्म ११ गोल गरेको छ । जुन, उसले सन् १९६६ मा विश्वकप जित्दा गरेको जति नै हो ।
 
– मारियो माञ्जुकिचले रुसविरुद्धको क्वार्टरफाइनलमा आन्द्रेज क्रामारिकको असिस्टमा गोल गरे । उनले जारी विश्वकपमा ३ गोल र १ असिस्ट गरेका छन् । एकै विश्वकपमा धेरै गोलमा संग्लग्नता हुने उनी दोस्रा क्रोएसियाली खेलाडी बनेका छन् ।
 
– क्रोएसियाले रुसविरुद्धको खेलमा दुवै गोल हेडमार्फत गरेको थियो । त्यसअघि उसले विश्वकपमा गरेको २९ गोलमध्ये एउटा मात्र हेडबाट सम्भव भएको थियो ।

प्लेयर्स टु वाच

डोमागोज भिडा – क्रोएसिया
 

भिडा जारी विश्वकपमा  आफ्नो शानदार प्रदर्शन जारी राख्ने क्रोएसियाली खेलाडीमध्ये एक हुन् ।
 

रुसविरुद्धको खेलमा उनले अतिरिक्त समयमा गोल गरेर क्रोएसियालाई अग्रता दिलाएका थिए गोलको सेलिब्रेसन गर्ने क्रममा जर्सी खोलेर पहेँलो कार्ड पाएका उनले इंग्ल्याण्डविरुद्धको सेमिफाइनलमा पनि पहेँलो कार्ड पाए र क्रोएसियाले जितेमा फाइनल खेल गुमाउनेछन् । तर, अनलाइनमा प्रशारित यस्तै आशयको भिडियोको जवाफ दिँदै उनले सेमिफाइनलमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् ।
 
२९ वर्षीय भिडाका लागि सेमिफाइनलमा इंग्ल्याण्डको शानदार अग्रपंक्ति चुनौती हुन सक्नेछ ।
 
जोर्डन हेण्डरसन – इंग्ल्याण्ड
 
मांसपेशीको चोटका कारण उनी क्रोएसियाविरुद्धको खेलमा फिट हुनेमा सन्देहः छ । र, इंग्ल्याण्डको मुख्य चिन्ताको विषय पनि त्यही हो ।                                                                                                                                                                                                                       

क्रोएसियाको मिडफिल्डमा लुका मोड्रिच र इभान राकिटिचको असाधारण सन्तुलनले उनीहरुलाई रोक्न इंग्ल्याण्डका लागि विशेष र स्तरीय रणनीति आवश्यक हुनेछ । र, हेण्डरसन ग्यारेथ साउथगेटको एक मात्र खेलाडी हुन् जो त्यस लयलाई नियन्त्रण गर्ने उपयुक्त पात्र हुनेछन् ।
 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया