प्रधानमन्त्री ओली उपचारका लागि फेरि सिंंगापुर प्रस्थान

 भदौ ५, २०७६ बिहिबार १४:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंंगापुर प्रस्थान गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओली बिहीबार अपराह्न साढे १ बजे थाई एयरको उडान नम्बर GT ३२० बाट सिंंगापुर प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीसँग उहाँकी श्रीमती राधिका शाक्य पनि सिंगापुर प्रस्थान गर्नुभएको छ । केही समय अघि उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री ओली फेरि थप उपचारका लागि सिंगापुर जानुभएको हो । 

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रेस नोट जारी गर्दै मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि उपचार हुने जानकारी गराउनुभयाे ।

डा दिव्या सिंह शाहले जारी गर्नुभएकाे प्रेस नाेटमा प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरेर निराकण गर्ने उपचार विधिलाई निरन्तरता दिनका लागि फेरि सिंंगापुर जानुपरेको जनाइएकाे छ ।

गएकाे साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । यसपटक पनि त्यसै अस्पतालमा नेपाली चिकित्सकका साथै त्यहाँका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गर्ने सिंंहद्वारा जारी प्रेस नाेटमा उल्लेख छ ।

प्रधानमन्त्रीलाई बिदाई गर्नका लागि सरकारका मन्त्रीहरु तथा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ त्रिभुवन विमानस्थल पुग्नुभएको थियो । साथै नेकपाका अन्य नेता कार्यकर्ताहरुको पनि उल्लेख्य उपस्थिति थियो । प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया