भारतका पूर्व अर्थ मन्त्री अरुण जेटलीको निधन

 भदौ ७, २०७६ शनिबार १३:६:४७ | एजेन्सी
unn.prixa.net

भारतका पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टी(बीजेपी) का वरिष्ठ नेता अरुण जेटलीको शनिबार निधन भएको छ । उनी ६६ वर्षका थिए ।

गएको नौ दिनदेखि दिल्लीमा रहेको एम्स अस्पतालमा उनको उपचार भैरहेको थियो । एम्स अस्पतालकी प्रवक्ता आरती विजका अनुसार जेटलीको निधन शनिबार मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा भएको हो ।

पछिल्लो शनिबार मात्रै भारतीय रक्षा मन्त्री राजनाथ सिंह जेटलीको स्वास्थ्य अवस्था बुझ्न एम्स अस्पताल पुगेका थिए । त्यसभन्दा पहिले अगस्ट ९ मा प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्य मन्त्री हर्षवद्र्धनलगायत अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।

यही महिना श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

मोदीको पहिलो कार्यकालमा अर्थ मन्त्री रहेका जेटली स्वास्थ्यमा आएको खराबीसँगै नयाँ सरकारमा कुनै जिम्मेवारी नलिने बताएका थिए । 

भारतले यसै महिना मात्रै दुई जना वरिष्ठ राजनीतिज्ञलाई गुमाएकाे छ । यसअघि अगस्ट ६ मा भारतकी पूर्व विदेश मन्त्री सुषमा स्वराजकाे निधन भएकाे थियाे ।

राजनीतिमा प्रवेश

सन् १९५२ डिसेम्बरमा दिल्लीमा जन्मिएका अरुण जेटलीले दिल्ली विश्वविद्यालयबाट कानुनको पढाइ पूरा गरे । पढाइपछि उनले सबैभन्दा पहिले वकालत गर्न सुरु गरे र छिट्टै सर्वाेच्च अदालतको वरिष्ठ वकिलहरुको सूचीमा सामेल भए ।

श्री राम कलेज अफ् कमर्स (एसआरसीसी) बाट स्नातकको पढाइ गर्ने क्रममा जेटली सन् १९७४ मा छात्र संघका अध्यक्ष रहे । त्यो अवस्थामा कांग्रेस निकै बलियो पार्टी थियो । अरुण जेटलीले अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) को उम्मेदवारको रुपमा चुनाव जिते । यहीँबाट नै उनको राजनीतिक यात्रा सुरु भएको थियो ।

सन् १९७३/०७४ को दौरमा जय प्रकाश (जेपी) नारायणले भ्रष्टाचारको विरोधमा ठूलो अभियान चलाए । जेपीलाई आफ्नो राजनीतिक गुरु मान्ने जेटलीले त्यो अभियानमा भाग लिए ।

सन् १९७५ मा आपतकाल घोषणा हुँदा अरुण जेटलीलाई हिरासतमा लिइयो । २२ महिनाको आपतकालमा जेटलीलाई १९ महिना तिहाड जेलमा राखियो ।

सन् १९७७ मा चुनाव हुँदा कांग्रेसले नराम्रोसँग हार बेहोर्न पुग्यो । जनता पार्टी सत्तामा आयो र जेटली लोकतान्त्रिक युवा मोर्चाका संयोजक बने ।

त्यही वर्ष जेटलीलाई एबीभीपीको दिल्ली प्रदेशका अध्यक्ष बनाइयो र त्यसपछि जनता पार्टीको लागि अभियान चलाउने युवा मोर्चाको अध्यक्ष पनि चुनिए ।

त्यसपछि सन् १९८० मा जेटली भारतीय जनता पार्टीमा सामेल भए । सन् १९९१ पछि भाजपाको राष्ट्रिय कार्यकारिणीका सदस्य पनि बने ।

आफ्नो पूरै राजनीतिक यात्रामा जेटली भारत सरकारमा वित्त मन्त्री बने, केही समयको लागि रक्षा मन्त्री र सूचना र प्रसार मन्त्री पनि बने ।

जब वाजपेयीले युवा ट्यालेन्ट भने

सन् १९८४ मा भएको आम चुनावमा भाजपाले हार बेहोर्न पुग्यो । वरिष्ठ पत्रकार सुप्रिया नायर द कारवां बुक अफ प्रोफाइल्स मा लेख्छिन्, ‘त्यसपछि एक पटक अटल बिहारी वाजपेयीले जेटलीलाई युवा ट्यालेन्ट भने ।’

इण्डिया टुडेलाई दिएको एक अन्तर्वार्तामा वाजपेयीले भनेका थिए, ‘हारपछि हामीले पुनः एक पटक सोच्ने मौका पायौँ । पार्टीलाई नयाँ अनुहारको जरुरी छ र हामीसँग बम्बईमा प्रमोद महाजन तथा दिल्लीमा अरुण जेटलीजस्ता युवा ट्यालेन्ट छन् ।’

नोटबन्दीका लागि सम्झिनेछ

नोभेम्बर २०१६ को राति भारत सरकारले ५०० र १००० दरका सबै नोटको प्रचलनमा रोक लगायो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दीसँगै आतंकवादमा कमी आउने बताएका थिए । तर नोटबन्दीसँगै आर्थिक विकासमा गतिरोध उत्पन्न भएको थियो ।

तत्कालीन अर्थ मन्त्री रहेका अरुण जेटलीले नोटबन्दीपछि भारतीय आर्थिक अवस्था सुध्रँदै जाने बताएका थिए । उनले डिजिट भुक्तानी राम्रो विकल्प भएको पनि बताएका थिए । उनैको कार्यकालमा भारतमा जीएसटी पनि लागू भएको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया