'पलेँटी शृङ्खला' काे आउँदाे संस्करणमा 'लेकाली-परिवार' गुञ्जने

 भदौ ९, २०७६ सोमबार १२:०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा प्रसिद्ध सांगीतिक समूह 'लेकाली-परिवार' ले प्रस्तुति दिने भएको छ । 

यसका निम्ति लामो समयदेखि सामूहिक प्रस्तुतिबाट टाढा बसेका लेकालीका तीन सदस्यहरू नेपालयको ‘आर’ शालामा तयारीका लागि जुटेका छन् । झण्डै आधा शताब्दी पहिलेका दिनहरू सम्झँदै गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ एक-अर्काको स्वरमा स्वर मिलाइरहेका छन् ।

'लेकाली-परिवार' विसं २०२४ सालमा स्थापना भएको सांगीतिक समूह हो । भोजपुरका दुई युवा गणेश रसिक र हिरण्य भोजपुरेको परिचय काठमाण्डौ आएपछि मात्र भएको हुन्छ । संगीतको रुचिले उनीहरूको सम्बन्धलाई बिस्तारै नजिक बनाउँदै लान्छ । सुरुमा ‘राल्फा-परिवार’ मा सक्रिय रहेका गणेश रसिक  ‘राल्फा’ बाट भखैरै बहिरिएका हुन्छन् ।

सांगीतिक गोरेटो कोर्ने प्रयत्न गरिरहेका रसिकजस्ता युवाहरुको भेट काठमाण्डौ त्यौड टोल निवासी उर्मिला श्रेष्ठसँग हुन्छ । उनकै पुर्ख्यौली घर परिवार ती युवाहरूको जमघट थलो हुन्छ र त्यहीँ जन्मन्छ  ‘लेकाली-परिवार’ । लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीन किशोरहरू पनि संलग्न हुन्छन् ।

विसं २०२५ सालको अन्त्यतिर लेकाली–परिवारले महेन्द्र पुलिस क्लबमा  ‘छहाराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक सुरुवात गरेको थियो । कार्यक्रममा गाइएका  ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’ ‘ए है है’, ‘काफल पाक्यो’, गीतहरूले निकै चर्चा कमाएका थिए । त्यही कार्यक्रमबाट लेकालीले आफ्नो छुट्टै पहिचान स्थापना गर्न थालेको हो । 

त्यो कार्यक्रमको चर्चापछि लेकालीलाई रेडियो नेपालको ढोका पनि खुल्छ । लेकाली-परिवारको गीत देशैभरि गुन्जन थाल्छन् । लेकालीले पनि  ‘राल्फा’ ले झैँ आधुनिक, प्रयोगवादी र लोक आधारित गीतहरू सिर्जना गर्न थाल्छन् । लेकालीले पूर्वी पहाडको लोक शैलीलाई आधार बनाएर बनाएका गीतहरू झण्डै लोकगीतकै रुपमा स्थापित हुन थाल्छन् । गणेश रसिकले बनाएको  ‘रातो भाले’ र हिरण्य भोजपुरेले बनाएको  ‘झाँक्री गीत’ लाई कतिपयले अहिले पनि लोकगीत नै सम्झन्छन् तर त्यस्ता गीतहरू लोकशैलीमा सिर्जना भएका मौलिक गीत नै थिए ।

विगतको सृजनाकर्मको दिनहरू सम्झाउँदा गणेश रसिक भन्छन्, ‘हामी गोठाले जीवन बिताएका मान्छे राजधानी टेकेपछि तिनै गोठाले शब्दहरूलाई भाकामा गाइयो, सुन्नेले लोकगीतकै दर्जा दिए ।’

लामो समयपछि लेकालीको नाममा फेरि मञ्चमा उपस्थित हुन पाउँदा उत्साहित बनेकी उर्मिला श्रेष्ठ, भोजपुरे र रसिकतर्फ इसारा गर्दै थप्छिन्, ‘उहाँहरूले बनाएका गीतहरूले लोकगीतकै स्तरमा लोकप्रियता हासिल गर्नुमा ती गीतभित्र रहेको सामाजिक यथार्थताको चित्रणले गर्दा हो जस्तो लाग्छ ।‘

परिचित हाँस्यशैलीमा हिरण्य भोजपुरे थप्छन्, ‘यो उमेरमा आएर हामीले रचेका गीतको चर्चा गर्नुभन्दा पनि पलेँटीमा गाउने बेलामा तिनका हरफ सम्झनै मुश्किल होला जस्तो भइसक्यो, कागज नै हेर्नुपर्ने अवस्थामा पुगिसक्यो । तर हामीलाई नाम र पहिचान भने यिनै गीतले दिएका हुन् ।’ 

त्योबेला लेकालीमा संलग्न रहेका कति जना कलाकारले संसारबाट बिदा लिइसके । कति विदेशमा छन् । कति वृद्ध र अशक्त भइसके । आउँदो पलेँटीमा भोजपुरे, रसिक र उर्मिलाले विगतका तिनै सहयात्रीहरूसँगको संगतलाई सम्झना गर्नेछन् । गीत गुञ्जाउने छन् ।

‘हामीसँग कुनै बेला सहयात्री कलाकारहरूको लामो लस्कर हुने गर्दर्थ्यो तर समयले धेरै कोल्टे फेरिसक्यो । अहिले हामी तीन जनामात्र स्टेजमा निस्कँदै छौं । सांगीतिक कार्यक्रम हुनेबेला त उहिले पनि उत्साह हुन्थ्यो, अहिले पनि छ । पलेँटीको माहोलसँग परिचित भएकोले झन् उत्साह थपिएको छ‘, भोजपुरेले भने । 

अन्तिम अपडेट: भदौ १९, २०७६

तपाईको प्रतिक्रिया