भिडियाे कन्फरेन्समार्फत यसरी बस्दै छ मन्त्रिपरिषद् बैठक

 भदौ ९, २०७६ सोमबार १२:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - प्रधानमन्त्री देश बाहिर रहँदा आपत्कालीन अवस्थामा बाहेक अन्य बेला मन्त्रिपरिषद् बैठक नबस्ने गरेको भए पनि सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि देशबाहिर अर्थात् सिंगापुर हुनुहुन्छ । गएको बिहीबार उहाँ त्यसतर्फ जानुभएको हो । तर उपचारका लागि सिंगापुर जानु अघिल्लो दिन बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक नियमित बस्ने निर्णय भएको थियो । 

नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ मा प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्रै मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था भएकोमा त्यसमा संशोधन गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था राखिएको थियो ।  त्यही अनुरुप सोमबार बैठक बस्न लागेको हो । 

प्रधानमन्त्री देश बाहिर रहँदा भिडियो कन्फरेन्सिङ माध्यम मार्फत मन्त्रिपरिषद् बैठक बस्ने निर्णय अनुरुप सोमबार पहिलो पटक यस्तो प्रविधि प्रयोग गरेर बैठक बस्न लागेको हो । उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सिङ माध्यम मार्फत बैठकको अध्यक्षता गर्नु हुनेछ ।  

मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना गरिएको भिडियो कन्फरेन्सिङ हलबाट प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गरी बैठकका एजेण्डामा निर्णय खोज्ने छन् । प्रधानमन्त्रीको कार्यालयमा स्थापना गरिएको यो हलबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग पनि यसअघि प्रधानमन्त्रीले संवाद गर्नुभएको थियो । यस्तै राष्ट्रिय गौरबका आयोजनाहरुको अनुगमन र मूल्यांकन पनि यही हलबाट गर्न सकिने व्यवस्था छ । 

अहिले सिंगापुरमा रहनुभएका प्रधानमन्त्री इन्टरनेटको प्रयोग गर्दै भिडियो कन्फ्रन्सिङ हलको सर्भरमा जोडिनु हुनेछ । त्याहाँ राखिएका टीभी स्क्रिनको माध्यमबाट प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुबीच संवाद हुने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै उहाँले सूचना प्रविधिको समुचित उपयोग गर्न प्रधानमन्त्री कार्यालयमा भिडियो कन्फरेन्सिङ हल निर्माण गर्न लगाउनुभएको थियो । 

सोमबार पहिलो पटक यस्तो प्रविधिको प्रयोग गरेर बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया