पर्यटन मन्त्रीको एकवर्षे कार्ययोजना : भैरहवा आउने प्लेनलाई इन्सेन्टिभ दिने, नारायणी किनारलाई ‘बिच’ बनाउने

 भदौ ९, २०७६ सोमबार १६:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ –संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एकवर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफ्नो टिम दुःखबाट भाग्ने टिम नभएको दाबी गर्नुभएको छ । ‘हामी सगरमाथाका आरोही हौँ, विश्वास छ पिकमा पुग्छौँ, तर मौसमले गर्दा कुनैबेला आधार शिविरमा रोकिनुपर्ला, तर पाइला रोकिन्न’, मन्त्री भट्टराईले भन्नुभयो ।

निगमको सुधार

पर्यटन मन्त्रीको एकवर्षे कार्ययोजनामा नेपाल वायु सेवा निगमको सुधार प्राथमिकतामा परेको छ ।  उहाँले निगमका वाइडबडी जहाजले रियाद र सियोलसम्म उडान गर्ने बताउनुभयो । त्यस्तै उडान रद्द र ढिलाइ भएमा यात्रुलाई एअरपोर्ट समयभन्दा २ घन्टा अघि जानकारी दिने पनि उहाँले बताउनुभयो । त्यस्तै निगमसँग भएका सबै जहाजले उडान भर्ने पनि मन्त्री भट्टराईले बताउनुभयो ।

कानुनी सुधार

त्यस्तै नेपालको हवाई क्षेत्रलाई विश्वसामु सुरक्षित र भरपर्दो हो भन्ने विश्वास दिलाउन हवाई नीतिमा परिवर्तन गरिने पनि उहाँले बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन छिट्टै नै ऐन बन्ने पनि उहाँले बताउनुभयो । निगमलाई सार्वजनिक कम्पनी गराउने कुरा पनि मन्त्री भट्टराईको एकवर्षे कार्ययोजनामा समावेश छ । त्यस्तै नयाँ पर्यटन नीति र सांस्कृतिक सम्पदा संरक्षण गर्न छाता ऐन बनाउने पनि उहाँले बताउनुभयो ।

भिजिट नेपाल–२०२०

सरकारले आउँदो वर्ष नेपाल भ्रमण वर्ष मनाउन गैरहेको छ । त्यसैलाई सफल बनाउन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने मन्त्री भट्टराईले बताउनुभयो ।  सन् २०२० को जनवरी महिनाको पहिलो दिन विश्वभरका पर्यटन मन्त्री ल्याउने उहाँले बताउनुभयो ।

त्यसैगरी विश्वभरका पर्यटक भित्र्याउनका लागि ‘न्यू इयर इन नेपाल’ अभियान चलाइने पनि उहाँले बताउनुभयो । ब्यागेजमा लगाउन मिल्ने नेपालको लोगो र ‘एक साथी नेपाल पठाऔँ’ अभियानलाई प्रवर्द्धन गरिने उहाँले बताउनुभयो ।

त्यस्तै हिमाल आरोहीको अन्तर्राष्ट्रिय भेला आयोजना गर्ने पनि उहाँले बताउनुभयो । त्यस्तै विभिन्न हिमालका नाम राख्ने र केही हिमालका नाम फेरिने पनि उहाँले बताउनुभयो ।

केही ठाउँमा सुविधासम्पन्न होटेल र रिसोर्टहरु पनि बनाइने उहाँले बताउनुभयो ।  पाथिभरा, रारा, सेफोक्सुन्डोलगायतका ठाउँमा रिसोर्ट बनाइने उहाँले बताउनुभयो ।

त्यस्तै नारायणी नदीमा समुद्री ‘बिच’को झल्को दिने गरी भौतिक पूर्वाधार बनाइने पनि उहाँले बताउनुभयो । 

नागरिक उड्डयन क्षेत्र

मन्त्री भट्टराईले ७० वर्ष माथिका नागरिकलाई हवाई यात्रामा ५० प्रतिशतसम्म छुट दिने योजना पनि अघि सार्नु भएको छ ।

त्यस्तै काम सकिनै लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा उडान गर्ने विदेशी एअरलाइन्सलाई इन्सेन्टिभ दिने पनि उहाँ बताउनुभयो । आउँदो मार्चसम्म गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

नेपालका सबै एअरपोर्टलाई ७० सिटे जहाज बस्न योग्य बनाउने पनि मन्त्री भट्टराईले बताउनुभयो । त्यस्तै नेपाल प्रवेश गर्नेबित्तिकै नेपालको सुन्दरताको झल्को दिन तीनकुनेबाट गौशालासम्मको सडकलाई सून्दर बनाउने पनि उहाँले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै नै बुटिक विमानस्थलमा परिणत हुने बताउनुभयो ।

त्यस्तै विमानस्थलको प्रशासनिक कामहरु पनि छिटो छरितो बनाइने उहाँले बताउनुभयो । ब्यागेज क्लियरेन्स ३० मिनेटमै हुने व्यबस्था गर्ने तथा विमानस्थल चौबीसै घण्टा सञ्चालन गरिने उहाँले बताउनुभयो । 

त्यस्तै अनलाइन भिसाको सुरुवात गरिने पनि उहाँले बताउनुभयो ।

आन्तरिकतर्फ राष्ट्रपति प्रधानमन्त्री का गाडी मात्रै विमानस्थलको ढोकासम्म पुग्ने व्यवस्था मिलाइने र भीआईपी आगमनको परिभाषा परिवर्तन गर्ने पनि मन्त्री भट्टराईले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया