पत्रकार पुडासैनी आत्महत्या प्रकरणबारे रवि लामिछानेले सार्वजनिक सञ्चार माध्यममा बाेल्न नपाउने

 भदौ ९, २०७६ सोमबार १९:३९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सार्वजनिक सञ्चार माध्यममा मुद्दासँग सम्बन्धित कुरा गर्न रोक लगाइएको छ । 

जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिँदै मुद्दासँग सम्बन्धित कुरा सार्वजनिक माध्यममा गएर बाेल्न रोक लगाएको हो । यसका साथै उहाँ आफैले चलाउने कार्यक्रममा पनि मुद्दासँग सम्बन्धित कुरा गर्न नपाउने आदेश अदालतले दिएको हो । 

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले यस्तो आदेश दिएको हो । मुद्दा अहिले पनि विचाराधीन अवस्थामा रहेको र यसको अन्तिम टुंगो नलाग्दासम्म मुद्दासँग सम्बन्धित पीडित, प्रहरी, अदालत, मुद्दाका साक्षीको बयान लगायतका बारेमा सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पनि आफ्नो धारणा राख्न नपाउने आदेशमा भनिएको छ ।

यसका साथै नेपाल छाड्न समेत रोक लगाइएको छ । गम्भीर बिरामी भएर विदेशमा उपचार गराउन जानै पर्ने भए अदालतको अनुमतिमा मात्रै जान सकिने पनि उल्लेख छ । 

अदालतले त्यही प्रकरणमा पक्राउ परेका युवराज कँडेललाई तीन लाख धरौटी र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।गएको साउन २० गते चितवनको कंगारु होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए । 

आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भिडियोमा आफूलाई लामिछाने, कँडेल र अस्मिताले आत्महत्या गर्न बाध्य बनाएको बताएका थिए । भिडियो सार्वजनिक भएपछि साउन ३० मा तीनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । 

१० दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hari

    Aug. 27, 2019, 3:03 a.m.

    अरु सबै भ्रष्टहरु पुडासैनी प्रकरण मा जे पनि बोल्न हुने रबी लामिछाने आफुमाथि लागेको झुटो आरोप को बारेमा बोल्न पाउने की नपाउने??????

  •  0 Reply

तपाईको प्रतिक्रिया