बुद्धभूमि नगरपालिका बाल विवाहमुक्त घोषित

 भदौ १०, २०७६ मंगलबार २०:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – बुद्धभूमि नगरपालिका विवाहमुक्त  घोषित भएको छ ।

२ वर्षको अवधिमा २० वर्ष मुनिका कुनै पनि बाल बालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भन्दै स्थानीयवासी र सरोकारवालाहरूका साथमा मेयर प्रमुख केशव श्रेष्ठले प्रतिबद्धता जनाएर बुद्धभूमि नगरलाई देशकै पहिलो बालविवाह मुक्त नगर घोषणा गरेका हुन् । 

यसैगरी नगरपालिका भित्रका १६ देखि २३ महिनासम्मका सवै बालबालिकाहरुले १ वर्षको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चित भएसँगै यो नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिकासमेत घोषणा गरिएको मेयर केशव श्रेष्ठले बताउनुभयो । राष्ट्रिय रणनीति २०७२ ले सन् २०३० सम्ममा नेपालमा बालविवाह अन्त्य गर्ने लक्ष्यअनुरुप नगरपालिकालाई बाल विवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो ।

घोषणा सभामा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री सुरेन्द्र यादवले संविधान र कानुनले बन्देज गरेको अवस्थामा उमेर नपुगी विवाह नगर्न आग्रह गरेका छन् । यसरी उमेर नपुगी गरिने विवाहलाई अवैधानिक तथा गैरकानुनी मानिने बताउनुभयो । राज्यमन्त्री यादवले बाल विवाह रोक्न समाजका सबै पक्षको उत्तिकै दायित्व रहने भन्दै देशलाई नै बालविवाहमुक्त बनाउन सबै लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु सहसराम यादव र सन्तोषकुमार पाण्डेयले तराई मधेशमा नेपाल–भारत सीमा पारी गएर बाल विवाह गर्ने प्रवृत्ति रहेको बताए । सीमा पारी गई गरिने बालविवाह रोक्न सक्ने प्रणालीको विकास गरे मात्र बाल विवाहमुक्त घोषणाले सार्थकता पाउने प्रदेश सभा सदस्यहरुको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बालविवाह गर्नु कानुनी अपराध भएको बताउँदै यसले बालबालिकाको शारीरिक, मानसिक तथा अन्य क्षेत्रमा समेत असर पुर्‍याउने बताउनुभयो । त्यस कारण पनि हरेक अभिभावकहरुले आफै आफ्ना छोराछोरीको बालविवाह हुन नदिएर उदाहरणीय बन्नु पर्नेमा उहांले जोड दिनुभयो ।

मुलकी देवानी संहिता २०७४ले विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ । बाल विवाह अन्त्यका लागि कम उमेर बाल विवाह गर्ने गराउनेलाई दण्ड सजायको व्यवस्था समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बाल विवाहमुक्त घोषणालाई कागजमा मात्रै घोषणा गरेर होइन, यसलाई दिगो र निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया