राज्यको लापर्वाहीका कारण चर्चित पथ प्रदर्शक ध्रुव बिष्टको मृत्यु भएकाे परिवारकाे दावी

 भदौ १२, २०७६ बिहिबार १८:८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पथ प्रदर्शक ध्रुव बिष्टकाे परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजुरी दिने बताएकाे छ ।

रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघसंस्थाले लापर्वाहीका कारण बिष्टको मृत्यु भएको आरोप लगाउँदै उजुरी गर्ने बताएको हो । मृत्यु भएको खबर पनि समयमा नदिइएको उनीहरुकाे गुनासाे छ ।    

पत्रकार सम्मेलनमा ध्रुवकी दिदी उषाले भन्नुभयाे, ‘मेरो भाइको निधन राज्यको निकायदेखि पर्यटन क्षेत्रको लापर्वाहीका कारण रहस्यमय तरिकाले भएकाले निष्पक्ष छानबिन हुनुपर्छ ।’

केसी ठमेलमा रहेकाे हिमालयन स्विफ्ट ट्रेकबाट आफ्नो विदेशी साथीसँग सगरमाथा अरोहणमा गएका थिए । सगरमाथा आरोहणका क्रममा २०७६ जेष्ठ १० गते निधन भएको थियो । राष्ट्रिय पथ प्रदर्शक बिष्टको मृत्यु प्राकृतिक प्रकोपका कारण नभइ रहस्यमय भएको परिवारजनको भनाइ छ ।

बिष्टकी दिदी उषा पनि हिमाल आराेही हुनुहुन्छ ।

हिमालयन स्विफ्ट ट्रेकबाट बिष्टलाई पनि सगरमाथा आरोहण गराउने भनेर लगेको परिवारले बताएको छ । तर, ७८०० मिटरमा उनलाई छोडेर शेर्पा गाइडका साथमा विदेशी साथीलाई मात्र आरोहण गर्न लगिएको थियो ।

उषाले भन्नुभयाे, ‘फर्किने क्रममा १०० मिटर अगाडि भएको साथीले ध्रुवलाई लडेको देखेर उद्धार टिमलाई सम्पर्क गर्दा उनीहरुले पहिला बेवास्ता गरेको र पछि दुर्घटना स्थलमा पुग्दा उनको अक्सिजनसम्म नभएको बुझियो ।’

पोस्टमार्टम रिपोर्टमा हाइ अल्टर सिकनेसका कारण मृत्यु भएको बताइएको परिवारले जानकारी दिएकाे छ । बिष्टले गएकाे वर्षमात्र ८००० मिटर आरोहण गर्नुभएकाे थियाे । १२ वर्षको अनुभव बटुलेर विभिन्न आरोहणमा संलग्न भएका स्वर्गीय बिष्ट ‘लडेर मरेकाे’ भन्ने कुरा परिवारजनहरुलाई स्वीकार गर्न कठिन भएको देखिन्छ । बिष्ट इन्टरनेसनल माउटेन गाइडको प्रमाणपत्र प्राप्त गर्ने क्रममा हुनुहुन्थ्याे । 

सुदूरपश्चिमका स्थायी बासिन्दा बिष्टकी २२ वर्षीया श्रीमती र १६ महिनाको एक सन्तान छन् । रुकुमको सिस्ने हिमाल आरोहण गर्ने पहिलो टिममा बिष्ट पनि एक हुनुहुन्थ्याे । मुस्ताङमा सञ्चालन भएको स्केटिंगमा पनि बिष्टको योगदान रहेको छ ।

सरकारले पर्यटकहरुद्वारा आरोहण अनुमतिका लागि प्रतिव्यक्ति दशदेखि बीस हजार डलर लिने गरेको छ भने एक आरोहण बापत पर्यटकले नै गाइडलाई एक हजार डलर दिने गरेको छ ।

सरकारले शेर्पा गाइडलाई केही दिँदैन । यदि शेर्पा गाइडको निधन भएमा मृतकको परिवारलाई सरकारले पन्ध्र लाख रुपैयाँ दिन्छ ।कार्यक्रममा ध्रुबका दाजु कुमार बिष्टले पनि आफ्नो भाइको मृत्यु रहस्यमयी भएकोले यथाशक्य चाँडो छानबिन हुनुपर्ने माग गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया