यो सरकारले राम्रो काम गर्छ, हामीले नसके भोलि कांग्रेस र राजपाका साथीहरु आउँछन्: नेता शर्मा

'केन्द्रका मन्त्रीहरुले तल अधिकार दिएनन्, आफ्नो मुठ्ठीमा राख्न खोजे'

 भदौ १४, २०७६ शनिबार १७:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीयता कार्यान्वयनमा जटिलता देखिएको बताउनु भएको छ ।

संविधान जारी गर्दाका सहयात्री दलहरुबीच नै एकरुपता कायम नभएको गुनासो पोख्दै नेता शर्माले भन्नुभयो, ‘संघीयताको बारेमा हामीहरुबीच एकरुपता भएको छैन ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले अझै पनि शिक्षा, स्वास्थ्य लगायतका महत्वपूर्ण क्षेत्रमा संघीयता कार्यान्वयनमा नगएको गुनासो पोख्नु भयो । ‘अहिले पनि थुप्रै मन्त्रालयहरु संघीयताको मर्म र भावना अनुसार अघि बढेका छैनन्, संघीयता कार्यान्वयन गर्ने तर्फ कानुन तथा विधेयकहरु पेस भएका छैनन्’, उहाँले भन्नुभयो ।  

उहाँले संविधान र मुलुकको व्यवस्था नयाँ भए पनि काम गर्ने शैली पुरानै भएको र ऐन, कानुन र विधेयकहरु नयाँ आउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो व्यवस्था सर्वोत्कृष्ट छ । तर, संविधान कार्यान्वयनमा समस्या छ ।’ 

शर्माले वर्तमान सरकार असफल नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारले सर्वोत्कृष्ट काम गर्छ । हामीले नसके भोलि कांग्रेस र राजपाका साथीहरु सरकारमा आउने हो । दलीय प्रणालीमा यो नौलो कुरा होइन ।’ उहाँले केन्द्र सरकारका मन्त्रीहरुले प्रदेश तथा स्थानीय तहलाई अधिकार दिनको लागि हिचकिचाएको पनि आरोप लगाउनु भयो ।  

उहाँले भन्नुभयो, ‘संघका मन्त्रीहरुले तल अधिकार दिनको लागि अहिले हिचकिचाउने काम गर्नु भएको छ । तल अधिकार दिनको लागि कन्जुस्याइँ गर्नु हुँदैन । अधिकार जति आफ्नो मुठ्ठीमा राखेर बस्नु हुँदैन । यसरी कसरी देश समृद्ध हुन्छ ?’

पूर्वमन्त्री समेत रहनु भएका शर्माले व्यवस्था र संविधानको विरोध गर्न नपाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको काम कारबाहीलाई विरोध गर्न पाइन्छ, आलोचना गर्न पाईन्छ । तर व्यवस्थाको विरोध गर्न पाइँदैन ।’ 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया