सहर कुरुप भएको निहुँमा महानगर र इन्टरनेट सेवा प्रदायक कम्पनीबीचको विवाद चुलियो

 असार २८, २०७५ बिहिबार १६:५९:१० | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौं महानगरपालिकाले सहर कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका गाडी र कर्मचारीलाई पक्राउ गर्न थालेपछि दुई निकायबीच विवाद बढ्दै गएको छ । 

हिजो महानगरपालिकाको १६ नम्बर वडाले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीका गाडी र कर्मचारीलाई पक्राउ गरेर प्रहरीमा बुझाएको थियो । तर आज इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन अफ नेपालका संयोजक विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर इन्टरनेट सेवाको लागि बिजुलीका खम्बाबाटै तार लैजानुको विकल्प नभएकाले समस्या बुझिदिन आग्रह गरेका थिए । 

खम्बाबाट तार लैजान नपाउने भए अर्को उपाय दिन इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन अफ नेपालका संयोजक विनोद जोशीले माग गर्नुभयो । तर वडाध्यक्ष मुकुन्द रिजालले भने खम्बामा जेलिएका तार सहरबासीका लागि धराप भएको भन्दै शहर कुरुप भएको र तारबाट हुने जोखिमको लागि इन्टरनेट सेवा प्रदायक नै जिम्मेवार हुनुपर्ने बताउनुभयो । 

इन्टरनेट सेवा प्रदायकले जथाभावी तार तान्ने गरेको र आफ्नो तार मर्मत गर्दा महानगर र प्रहरीका सीसीटीभीका तार नै काटिदिएको पनि वडाअध्यक्ष रिजालले आरोप लगाउनुभयो । शहर कुरुप नबनाइकन कसरी इन्टरनेट सेवा दिने भन्ने विषयमा सरोकालवालाबीच थप छलफल गरेर टुंगोमा पुग्ने सहमतिपछि पक्राउ परेका इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारी छुटेका छन् । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया