चिनियाँ ह्याकरले झोलामा नअटेको पैसा गार्डलाई दिए, पक्राउपछि पनि हँसिलो अनुहार !

 भदौ १५, २०७६ आइतबार १६:५१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार राति ११ बजे काठमाण्डौको दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट अस्वभाविक रुपमा पैसा झिकिएको जानकारी पाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी नेतृत्वको टोली तत्कालै दरबारमार्गमा पुग्यो ।

प्रहरी दरबारमार्गमा पुग्दा चिनियाँ नागरिक झु लियाङगाङले  एटीएमबाट झिकेको पैसा झोलामा खाँद्दै थिए । उनलाई प्रहरीले त्यहाँबाट उम्कन दिएन । प्रहरीले उनीबाट थप जानकारी हात पार्‍यो र उनलाई नै लिएर अरु एटीएम कार्डबाट अवैध रुपमा पैसा झिक्ने चिनियाँसम्म पुग्यो ।

हात्तीसारमा रहेको जय नेपाल फिल्म हलनजिकै रहेको होटल माया मनोहर बुटिकमा अरु ४ जना चिनियाँ नागरिक पनि भेटिए । उनीहरु सबै नेपालमा नक्कली एटीएम र पिन प्रयोग गरेर पैसा निकाल्नकै लागि शुक्रबार मात्रै काठमाण्डौ आएका थिए ।

प्रहरी पुग्नुअघि नै उनीहरुले माया मनोहर छाडेर अर्को होटलमा जाने तयारी गरिरहेका थिए । तर प्रहरीले लिफ्टबाटै पक्राउ गर्‍यो । त्यसपछि उनिहरुका झोला खोलियो । सबै झोला पैसाले भरिएका थिए । केही पैसा बेडमा अनि साना–साना झोलामा थिए ।

प्रहरीले दरबारमार्गका १ जनासहित ५ जनालाई पक्राउ गर्‍यो । उनीहरुको साथबाट १ करोड २६ लाख रुपैयाँ बरामद भएको छ ।

यस्तै १ सय ३२ वटा नक्कली भिसा कार्ड र १७ वटा सक्कली भिसा कार्ड पनि बरामद भएको छ । यस्तै उनीहरुको साथबाट १ करोड २६ लाख रुपैयाँसहित अमेरिकन डलर ९ हजार १ सय ८, चिनियाँ मुद्रा ११ सय ९१ युआन, २ सय ५० युरो, क्याम्बोडियन ५ हजार, हङकङ डलर ८० पनि बरामद भएको छ ।

अहिलेसम्म ठ्याक्कै कति रकम झिकियो भन्ने खुलेको छैन । नेपाल राष्ट्र बैंकले अहिलेसम्म १ करोड ६८ लाख रुपैयाँ रकम अनधिकृत रुपमा झिकिएको भेटिएको र थप अनुसन्धान भैरहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशक बमबहादुर मिश्रले उनीहरुले कति रकम झिकेका हुन् भन्ने अझै टुंगो नलागेको जानकारी दिनुभयो । 

चिनियाँहरुले पैसा झिक्नका लागि प्रभू, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आईएमई, र सनराइज बैंकको कार्ड प्रयोग गरेका थिए । उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लुटेराले झोलामा नअटेको पैसा गार्र्डलाई दिए, पक्राउपछि पनि हँसिलो अनुहार !

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार उनीहरुले केही रकम एटीएम नजिकैका सुरक्षा गार्डलाई समेत फालिदिएका थिए ।

‘उनीहरुले पैसा झिकेछन्, सुटकेसमा नअटेपछि नोटका केही बिटा गार्डलाई दिएको बताएका छन्, हामीले गार्डलाई दिएको पैसा फिर्ता गर्नुपर्छ भन्ने बयान दिएका छन्, को गार्डलाई दिए र कति वटा बिटा फालेका हुन भन्ने त अनुसन्धानपछि नै थाहा होला’, सुवेदीले भन्नुभयो ।

एटीएमबाट पैसा झिकेर पक्राउ परेका चिनियाँ नागरिकमा कुनै निराशा नदेखिएको पनि वरिष्ठ उपरीक्षक सुवेदीले बताउनुभयो ।

‘चिनियाँ भाषा हामीले बुझ्दैनाैँ, दोभासे प्रयोग गरेर हामीले सोधपुछ गर्‍यौँ, उनीहरु कोही पनि निराश देखिँदैनन्, १ जना अलिअलि चिन्तामा देखिन्थे, अरु चार जना त हाँसिखुसी नै देखिन्छन्, हामी अचम्ममा छौँ’, सुवेदीले भन्नुभयो । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया