पशुपतिनाथमा दर्शनार्थीको भिड

 भदौ १६, २०७६ सोमबार १२:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ ।

रातो सारीमा सजिएका नारीहरुले तिजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरिरहेका छन् । तिजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ पशुपतिनाथ दर्शन गर्न पुगेका हिन्दु नारीहरुले यस वर्ष दर्शनका लागि पशुपति क्षेत्रका विशेष व्यवस्था गरेको भन्दै खुशी व्यक्त गरेका छन् । 

वृद्धा आमाहरुले पनि गएका वर्षहरुमा भन्दा यस वर्ष पशुपतिनाथ दर्शनका लागि सहज भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गरेर फलफूल र पानी खाएर तिजको ब्रत बसेको पनि बताएका छन् ।

तस्बिर : रासस

यता, पशुपति क्षेत्र विकास कोषले पनि बिहान ३ बजेबाटै दर्शनका व्यवस्था मिलाइएको जनाएको छ ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बिहान ३ बजेदेखि नै दर्शनार्थीहरुले लाइन बसेको पशुपतिनाथको दर्शन गरी बाहिर परिसरमा आएर नाचगान गरिरहेको जानकारी दिनुभयो । कोषले यस वर्ष करिब ७ लाखले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको पनि बताएको छ ।

तिजको अवसर पारेर सुरक्षाको उचित प्रबन्ध गर्न पशुपतिनाथ क्षेत्रमा करिब ४ हजार सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । चार वटै सुरक्षा निकायबाट परिचालन गरिएका सुरक्षाकर्मीहरुले हरेक लाइनमा बसेर सुरक्षा दिइरहेका छन् । उनीहरुले वृद्धा, अशक्त दर्शनार्थीहरुलाई पशुपतिनाथ मन्दिरमा दर्शन गराउने काम पनि गरिरहेका छन् ।

तस्बिर : रासस

दर्शनार्थीहरुलाई सहज ढंगले पशुपतिनाथको दर्शन गराउन स्वयम सेवक पनि परिचालन गरिएको छ भने स्वास्थ्य शिविर तथा खोज खबर शिविरको पनि व्यवस्था गरिएको छ । विगत वर्षहरुमा भन्दा यस वर्ष तिजमा पशुपतिनाथमा दर्शनार्थी बढेको पनि पशुपति क्षेत्र विकास कोषको दाबी छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया