आँखाको दृष्टि नै गुम्न सक्ने सापु रोगको लक्षण र बच्ने उपाय

 भदौ २०, २०७६ शुक्रबार १३:१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – डेंगुको डर बढेको बेला फेरि आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको अर्को रोगको प्रकोप देखिएको छ । सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात सापु रोगको संक्रमण देखिन थालेको हो ।

सेतो पुतलीलाई छोएर आँखामा हात लगेमा सापु हुने जोखिम धेरै हुने दृष्टि विशेषज्ञ अरुण ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार बत्तिको वरीपरी घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले आँखाको दृष्टि नै गुम्न सक्छ ।

भदौदेखि मंसिर महिनासम्म यो पुतलीको प्रजनन सुरू हुने भएकाले पनि यो बेला सापुका बिरामी धेरै देखिने गरेका उहाँले बताउनुभयो । कहिलेकाहीँ र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग भएको उहाँको भनाइ छ । 

नेपालमा वि.सं. २०३२ सालमा पहिलोपटक यो रोग देखिएको थियो । त्यसको ४ वर्षपछि डा. मदन उपध्यायको टोलीले यो रोगको नाम सापु राख्यो । रोग देखिएको चार दशक नाघिसक्दा पनि यसको यकिन कारण भने पत्ता लागेको छैन । 

आँखाको दृष्टि नै गुम्ने खतरा भएकाले सकेसम्म सेतो पुतलीको सम्पर्कमा नआउनु नै सापु रोगबाट बच्ने एकमात्र उपाय हो । झुक्किएर सेतो पुतली छोइए तत्काल अस्पताल जान डाक्टरको सुझाव छ । 

सापु रोगका लक्षण :

आँखा एक्कासी रातो हुने 
उज्यालोमा हेर्न गाह्रो हुने
आँखाको कालो भागको बीचमा सेता दाग देखिने
पिप जमे पनि चिप्रा नलाग्ने र आँखा नदुख्ने 
दृष्टि कम हुँदै जाने 

बच्ने उपाय :

सेतो पुतलीबाट जोखिने
कोठामा पुतली पस्न नदिन झ्यालढोकामा जाली लगाउने
झुल लगाएर सुत्ने 
सेतो पुतलीलाई सिधैं हातले नछुने
हातले छोइहाले साबुनपानीले राम्ररी हात धुने 
हात नधोइकन आँखामा छुँदै नछुने 
झुक्किएर छोइहाले आँखा सफा गरेर तुरुन्तै आँखा अस्पताल जाने ।

आँखा अस्पतालमा पुगेपछि सम्बन्धी विशेषज्ञसँग सहकार्य गरेर उनीहरुकै निगरानीमा एक/दुई हप्ता अस्पतालमै बसेर उपचार गर्दा निको हुन्छ । सेतो पुतलीले छाएको ढिलामा दुई दिनभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा धेरै हुने भएकाले सचेत हुन डाक्टरको सुझाव छ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया