नेपालकाे आर्थिक विकासमा ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई नेकपा अध्यक्ष दाहालकाे आग्रह

 भदौ २१, २०७६ शनिबार १५:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार, चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ । 

चिनियाँ दूतावासले शनिबार राजधानीमा गरेको नेपाल–चीन व्यापारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक स्थायीत्व कायम भएसँगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गर्नुभएको हो । 

अध्यक्ष दाहालले नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई समृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको बताउँदै चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताउनु भयो ।

उहाँले नेपाल सधैँ एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनियाँविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता पनि गर्नुभयो । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चीनको राजकीय भ्रमणको प्रतिफल नै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशीला भएको दाहालले स्पष्ट पार्नुभयो ।  

कार्यक्रममा उपराराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पूर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनु पर्ने आवश्यकता रहेको औँल्याउनु भयो ।

त्यस्तै कार्यक्रममा चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले पछिल्लो समय नेपाल–चीनबीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनस्तरका सम्बन्धहरु विस्तार हुँदै गएको बताउनु भयो । कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेता तथा व्यवसायीहरु सहभागी छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया