'तत्कालीन राजनीतिक दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे समझदारीमा भारतको कुनै हात छैन'

 भदौ २२, २०७६ आइतबार १७:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बुँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गर्नुभएको छ । 

नेकपाका विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपालले भारतको संलग्नतामा बुँदे समझदारी भएको भन्ने भनाइको कडा प्रतिवाद पनि गर्नुभयो । लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको आइतबार काठमाण्डौमा विमोचन गर्दै उहाँले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीसँग १२ बुँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको स्पष्ट पार्नुभयो  । 

त्यो समझदारीका लागि तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाललाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको पनि नेता नेपालको भनाइ छ । नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल त्यो समझदारीका लागि दिल्ली आएको पनि खुलासा गर्नुभयो ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताउनु भयो । यद्यपि त्यो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालको असन्तुष्टि पनि छ । 

नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र विद्रोही माओवादीको तर्फबाट डा. बाबुराम भट्टराईले १२ बुँदे समझदारीका लागि खेस्रा तयार पारेको पनि बताउनु भयो ।

वरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन विद्रोही माओवादीसँग दिल्लीमा १२ बुँदे समझदारी नभएको यसअघि पनि बताउनु भएको थियो । शौचालयभित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा नभएको तर त्यो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको स्पष्टीकरण छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया