चिनियाँ विदेशमन्त्री काठमाण्डौमा: मौसम खराबीका कारण आधा घण्टा आकाशमै

 भदौ २२, २०७६ आइतबार १८:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिनियाँ विदेशमन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ ।   

शनिबार बेइजिङबाट इस्लामावाद उत्रिएका विदेश मन्त्री वाङ पाकिस्तान–अफगानिस्तान–चाइना त्रिदेशीय बैठक सम्पन्न गरेर आइतबार काठमाण्डौ आइपुग्नुभएको हो । विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले उहाँलाई स्वागत गर्नुभयाे ।

अपराह्न ५ः२५ मा अवतरणको समय भए पनि मौसम खराबीका कारण विदेशमन्त्री चढेको विमान ६ बजे मात्रै अवतरण गर्‍याे । इस्लामावादबाट नेपालतर्फ आएका विदेशमन्त्री वाङ चढेको विशेष विमान मौसम खराबीका कारण अवतरणमा ढिलाइ भएको विमानस्थल स्रोतले जनाएको छ । 

आधा घण्टाभन्दा बढी समय विदेशमन्त्री चढेको विमान आकाशमै घुमेर बस्यो । वाङ चढेको विमान काठमाण्डौको आकाशमा पस्नै पाएन । मौसम खराबीका कारण विदेशमन्त्री वाङ चढेको विमान बारा र मकवानपुरको आकाशमा झण्डै ३ पटक चक्कर लगाएकाे थियाे ।  

काठमाण्डौ आइपुग्नुभएका चिनियाँ विदेशमन्त्रीलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन् । विदेशमन्त्री वाङलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएकाले विमानस्थलबाट सोझै उहाँ होटल सोल्टीमा जानुभएको छ ।

आइतबार भेटघाटको कुनै तालिका नभए पनि विदेशमन्त्रीको औपचारिक कार्यक्रमबारे परराष्ट्र मन्त्रालयका अधिकार र चिनिया दूतावासले होटलमै जानकारी गराउने छ ।

तीन दिने नेपाल बसाइका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुसँग पनि भेट्ने कार्यक्रम छ ।

मन्त्रीस्तरीय संयन्त्रको बैठकका लागि नेपाल आएका विदेशमन्त्री वाङसँग संयन्त्रको बैठक भने सोमबार अपरान्ह होटल याक एण्ड यति, दरबारमार्गमा बस्ने तय भएको छ ।  

‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) योजनालाई प्रभावकारी ढंगमा कार्यान्वयन गर्न संयन्त्र बनाइने तयारी छ । यस्तै बैठकमा नेपालले प्रस्ताव गरेका विशेष ९ वटा परियोजनामा कार्ययोजना तय गर्दै हस्ताक्षर हुनसक्ने परराष्ट्र अधिकारीले जनाएका छन् ।  

चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबर दोस्रो साता हुने भनिएको सम्भावित नेपाल भ्रमणबारे तयारी गर्न विदेशमन्त्री काठमाण्डौ आएको भनेर चर्चा गरिए पनि तत्कालै राष्ट्रपतिको भ्रमणबारे टुंगोमा पुग्न सकिने अवस्था नरहेको चिनियाँ दूतावास स्रोतले जनाएको छ । 

विदेशमन्त्रीको भ्रमण विशेष गरेर संयन्त्रको बैठकमा केन्द्रित रहेको परराष्ट्र स्रोतले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया