नेपालकाे राजनीति तल्लोस्तरमा आइपुग्याे, सुधार गर्ने बेला आइसक्याे : कांग्रेस महामन्त्री काेइराला

 भदौ २२, २०७६ आइतबार १९:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालकाे राजनीति तल्लोस्तरमा आइपुगेको टिप्पणी गर्नुभएको छ । 

कांग्रेस महामन्त्री कोइरालाले बीपी कोइरालाबाट सिकेर नेपालकाे राजनीतिलाई सफा र निष्कलंक बनाउन ढिलो गर्न नहुने स्पष्ट पार्नुभयो । आइतबार काठमाण्डौमा ‘बीपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै उहाँले बीपी कोइराला जीवनको सुरुवात कालमा वामपन्थी भएको खुलासा पनि गर्नुभयो । 

‘भारतीय स्वतन्त्र संग्राम आन्दोलनका बेला बीपी वामपन्थी हुनुहुन्थ्यो’, बीपीका छोरासमेत रहनुभएका महामन्त्री कोइरालाले भन्नुभयो, ‘पछि भारतीय नेताहरुको प्रभावमा परेपछि बीपी प्रजातन्त्रवादी हुनुभयो ।’

महामन्त्री कोइरालाले बीपीले ‘तिमी १८ वर्षको भएर पनि कम्युनिष्ट भएनौ भने तिम्रो हृदय नभएको’ भनाइ राख्ने गरेको पनि स्मरण गराउनु भयो । त्यसैगरी बीपीले ‘तिमी २५ वर्षको भएर पनि कम्युनिष्ट छौ भने तिम्रो दिमाग छैन’ भनेर आफूलाई भन्नु भएको पनि बताउनु भयो । 

कार्यक्रममा बोल्दै कांग्रेस नेता शेखर कोइरालाले संविधान विपरीत अघि बढेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहको सबै अधिकार संघीय सरकारले हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो ।

नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रणका लागि ठोस पहल गर्न नसकेको आरोप लगाउनु भयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया