नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्दै

 भदौ २३, २०७६ सोमबार ९:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले सोमबार उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । नेपालको तीनदिने  भ्रमणका लागि आइतबार काठमाण्डौ आइपुग्नु भएका मन्त्री यीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ । 

उहाँले बेलुका ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग तथा ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उहाँले दिउँसो ३ बजेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वार्ता गर्ने तयारी छ । वार्ता आर्थिक र विकास साझेदारीका साथै नेपाल–चीन सम्बन्धका विविध पक्षमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था तथा तथा नेपालमा चिनियाँ सहयोगमा सञ्चालित विकास परियोजनाको पुनरावलोकन र द्रूत कार्यान्वयनमा नेपालले जोड दिने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै चिनियाँ पक्षले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ बीआरआईमा नेपालले सहमति जनाइनसकेको विषयमा पनि कुरा राख्ने परराष्ट्र क्षेत्रका जानकारहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया