सहकर्मी कुट्ने वडा अध्यक्ष पक्राउ

 भदौ २३, २०७६ सोमबार १०:३४:४८ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गर्ने चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । लुइँटेल आइबार साँझ पक्राउ परेको प्रहरीले जनाएको हो ।

अध्यक्ष लुइँटेलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्पराज मल्लले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘उहाँ हाम्रोमा हुनुहुन्छ, मुद्दा अनुसन्धान गरेर प्रशासन कार्यालयमा बुझाउँछौँ।’

लुइँटेलमाथि चम्पादेवी गाउँपालिकाको कार्यालयमा यही गाउँपालिका – ७ का वडा अध्यक्ष सुरेश थापालाई गएको असार ३० गते कुटपिट गरेको अभियोग छ । पीडित थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे रक्सी खाएर आएका लुइँटेलले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गएको साउन १ गते उजुरी दिनुभएको हो ।

आरोपित अध्यक्षलाई पटक–पटक कार्यालयमा हाजिर हुन आउने ताकेता गरे पनि अटेर गरेपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

स्थानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेकर्ड प्रहरीमा बुझाएका थिए । अडियोमा लुइँटेलले थापालाई कुटेको र अरु २ जना कर्मचारी प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई आफूले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ ।

आफूलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएको पीडित थापाले बताउनुभयो । उहाँले गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेको र सुरक्षाका लागि कानुनी उपचार खोजेको बताउनुभयो ।

लुइँटेल कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् भने थापा नेकपाका जिल्ला सदस्य । अध्यक्ष, उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य जितेको कांग्रेस र नेकपाबीच गाउँपालिकाको बजेटलगायतका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । थापा र लुइँटेलबीच गाउँपालिकाका योजनालगायतका विषयमा विवाद हुने गरेको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया