गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई जना पक्राउ

 भदौ २३, २०७६ सोमबार ११:४०:२१ | रासस
unn.prixa.net

झापा – गौरादह नगरपालिकामा नचिनेको मानिसको समूहद्वारा आइतबार राति बम विष्फोट भएको छ । 

विष्फोटका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति साढे बाह्र बजे नचिनेका मानिसका समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो ।  

यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन थापाले जानकारी दिनुभयो । 

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया