चाडपर्व लक्षित ७० वटा सहुलियत पसल सञ्चालन

 भदौ २३, २०७६ सोमबार १९:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले देशभर चाडपर्व लक्षित ७० वटा सहुलियत पसल सञ्चालन गरेको छ ।

सोमबारदेखि काठमाण्डौसहित देशभर ७० ठाउँमा सहुलियत पसल सञ्चालन भएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले काठमाण्डौको सिंहदरबार रामशाहपथमा रहेको एकीकृत सहुलियत मूल्यको पसल उद्घाटन गर्नुभएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले संयुक्त रुपमा राखेको एकीकृत सहुलियत पसलको उद्घाटन गर्दै मन्त्री यादवले सबै ठाउँमा पुर्‍याउन नसकेपछि सहुलियत पसल खुलेका ठाउँमा उपभोक्ताले राहत पाउने बताउनुभयो ।

उहाँले उपभोक्ताले बजारमूल्यभन्दा केही सस्तोमा खाद्यबस्तु पाउने र यो व्यवस्था दशैँ, तिहार र छठ पर्वसम्म रहने बताउनुभयो । काठमाण्डौ उपत्यकाभित्र घुम्ती सेवासहित २३ वटा सहुलियत पसल सञ्चालन भएका छन् । यस्ता पसलमा चाडपर्वमा बढी खपत हुने नुन, चिनी, चामल, पिठो, गेडागुडी, घिउ, पनिर केही सस्तोमा पाइन्छ । यी खाद्यबस्तुमा किलोको दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म सहुलियत छ ।

नुनमा प्रतिकिलाे  २ रुपैयाँ छुट दिइएकाे छ । चामल प्रतिकिलो ५ देखि १०, गेडागुडी र पनिरमा पनि किलोको १०÷१० रुपैयाँ छुट छ । चिनी २ किलो १४४ रुपैयाँमा पाइन्छ । घिउमा ५० रुपैयाँ छुट छ । काठमाण्डौका रामशाह पथ, कालिमाटी, कोटेश्वर, सतुङ्गल, जावलाखेल, नख्खु, भक्तपुरलगायतका ठाउँमा सहुलियत पसल रहेका साल्ट ट्रेडिङका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले यसअघि ७३ ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने भने पनि अहिले ७० ठाउँमा मात्रै खुलेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाण्डौ उपत्यकाभित्र ५ र बाहिर १८, साल्ट ट्रेडिङले काठमाण्डौ उपत्यकाभित्र ११ र बाहिर १८ तथा दुग्ध विकास संस्थान काठमाण्डौ उपत्यकामा ४ र बाहिर ११ ठाउँमा पसल सञ्चालन गरेका छन् ।

त्यस्तै साल्ट ट्रेडिङले काठमाण्डौ उपत्यकामा तीनवटा घुम्ती पसल सञ्चालन गर्नेछ । उपत्यका बाहिर बनेपा, विराटनगर, राजविराज, लहान लगाएतका शहरमा सहुलियत पसल खुलेका छन् ।

अहिले ७० ठाउँमा पसल खुलेका र अरु थप्ने प्रयास जारी राखेको आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनुभयो । उहाँले थोरै संख्यामा खुलेका सहुलियत पसल सबैको पहुँचमा नभए पनि पहुँच पुग्ने उपभोक्तालाई राहत हुने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया