भारतबाट मंगलबारदेखि दैनिक ४८ लाख लिटरसम्म डिजल पाइपबाटै आउने, मूल्य घट्ने

 भदौ २३, २०७६ सोमबार २०:२९:८ | अर्जुन पोख्रेल
unn.prixa.net

अमलेखगञ्ज, बारा – भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको मंगलबार उद्घाटन हुँदैछ ।

पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओलीले काठमाण्डौको सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेपछि पाइपलाइनबाट तेल आउनेछ ।

पेट्रोलियम पाइपलाइनको उद्घाटनका लागि भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक अविजित चौधरीसहितको टोली अमलेखगञ्ज आइसकेको छ । २०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो ।

७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । अहिलेसम्म भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।

नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ  । अहिले अमलेखगञ्जबाट दैनिक २० लाख लिटर मात्रै डिजलको माग भएकाले अन्य नाकाबाट तेल लिन भारत जाने ट्यांकरले पनि अमलेखगञ्जबाटै डिजल लैजान सक्ने डिपो प्रमुख प्रदिप यादवले जानकारी दिनुभयो ।

पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् ।

यस्तै सुरक्षाका सबै उपकरण पनि जडान भैसकेका छन् । पाइपलाइनमार्फत आउने तेल कन्ट्रोल र नापजाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल रुम पनि बनिसकेको छ ।

पेट्राेलियम पाइपलाइनबारे उज्यालाेले तयार पारेकाे भिडियाे सामग्री हेर्नुहाेस्

मंगलबार उद्घाटन भए पनि फिनिसिङको काम भने सकिएको छैन । फिनिसिङका सबै काम सकेर भारतले परियोजना नेपाललाई हस्तान्तरण गर्नेछ ।

पाइपमार्फत तेल आउन थालेपछि डिजलको मूल्य घट्ने निगमले जनाएको छ । अहिले अमलेखगञ्ज डिपोको लागि मासिक २० करोड रुपैयाँ ढुवानी भाडा भारतबाट डिजल ओसार्दा लाग्ने गरेको छ । ‘पाइपलाइनको सञ्चालन खर्च खासै नभएको र ढुवानी भाडा पनि नहुने भएकाले लागत सस्तो पर्न जान्छ, त्यसैले मूल्य घटने कुरा स्वभाविक हो’, डिपो प्रमुख प्रदिप यादवले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया