चिकित्सकदेखि मन्त्रीसम्मलाई डेंगीको संक्रमण हुँदा पनि सरकार जिम्मेवार देखिएन : सांसद अधिकारी

 भदौ २५, २०७६ बुधबार १५:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगीको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । 

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगी संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधारण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरी नियन्त्रणको लागि अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । तत्काल डेंगी संक्रमणलाई लिएर गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उहाँले 'सरकारले राष्ट्रिय इमरजेन्सी' को रुपमा लिनुपर्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार कुहिरोका काग बनेको छ । यसलाई अंग्रेजीमा 'क्लुलेस' भन्छ । ७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कति जना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ?’

उपचारमा संलग्न चिकित्सकदेखि मन्त्रीसम्मलाई डेंगीको संक्रमण हुँदा पनि सरकार तथा सम्बन्धित निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘के अझै पनि सरकार कुम्भकर्ण निद्राबाट ब्युँझिन चाहँदैन ? सरकारले सदनमा उपस्थित भएर डेंगीको बारेमा सदनलाई जानकारी गराओस् ।’

उहाँले ३ सय ५० रुपैयाँमात्रै पर्ने डेंगी जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । चितवनमा अस्पतालहरुले डेंगी परीक्षण गर्न २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले ‘१ हजारमा गरेनौ भने कारबाही गर्छौँ’ भनेको उल्लेख गर्दै उहाँले सरकारले डेंगीको निःशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा यसको मूल्य ३ सय ५० रुपैयाँ पर्ने रहेछ । ३ सय ५० नै थप्दा पनि ७ सय भन्दा बढ्ता जान्छ भनेपछि सरकार नै १ हजार रुपैयाँको छुट दिन खोजिरहेको छ ।’ उहाँले डेंगी परीक्षणको वास्तविक लागत र परीक्षण सुविधा प्राप्त नभएका जिल्लामा सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । साथै उहाँले राष्ट्रियसभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगीको बारेमा आधिकारिक धारणा राख्नका लागि निर्देश गर्न पनि सभामुखको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगी संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगी संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । डेंगी संक्रमणले महामारीको रुप लिइसकेको भन्दै उहाँँले प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविष्यमा आउन नदिन आवश्यक तयारी गर्न सरकारसँग माग गर्नुभयो ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुका डाक्टर र कर्मचारी पनि बिरामी भएको तथा मेसिनले उपयुक्त काम नगरेका कारण गएको सोमबारदेखि बिरामीले चुस्त रुपमा सेवा पाउन नसकेको भन्दै उहाँले प्रयोगशालाका मेसिनलाई चुस्त दुरुस्त बनाउँदै सहज उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

गएको वैशाखमा धरानमा देखिएको डेंगी संक्रमणबाट राजधानी काठमाण्डौमा दुईसहित ६ जनाको ज्यान गैसकेको छ भने हजारौँ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको साटो झन् फैलिँदै गएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया