काठमाण्डौको सडकबाट १ वर्षमा १ हजार बालबालिकाको उद्धार

 भदौ २९, २०७६ आइतबार २०:२१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले एक वर्षभित्र काठमाण्डौ उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ । 

राष्ट्रिय बाल दिवसको अवसरमा आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्यांकमा काठमाण्डौ उपत्यकाबाट एक हजारभन्दा बढी सडक बालबालिकाको उद्धार गरी पुनर्स्थापना गरिएको उल्लेख छ । तथ्यांकमा चालु आर्थिक वर्षबाटै देशका मुख्य मुख्य शहरका पनि सडक बालबालिकाको उद्धार र पुनर्स्थापनाको काम सुरु गर्ने योजना पनि समावेश गरिएको छ । 

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले देशका अन्य शहरमा पनि सडक बालबालिकाको उद्धार तथा पुर्नस्थापनाको कामलाई चालु आर्थिक वर्षबाटै सुरु गर्नेगरी नीति, योजना र कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । उहाँले बालबालिकामाथि श्रम शोषण हुन नदिन ‘बाल श्रम गुरुयोजना’ कार्यान्वयनमा ल्याइएको पनि बताउनुभयो ।

सरकारी तथ्यांकअनुसार पछिल्ला एक वर्षमा सबैभन्दा बढी बालबालिकाविरुद्धको घटना प्रदेश १ मा भएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा भएको छ । सचिव घिमिरेले एक वर्षयता प्रदेश १ मा सबैभन्दा बढी १३१ ओटा बालबालिकाविरुद्धको घटना भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले बालबालिकामाथि हुने सबै प्रकारको शोषण र विभेद अन्त्यका लागि सरकार प्रतिबद्ध भएर लागि परेको बताउनुभयो । उहाँले बाल श्रम अन्त्यका लागि सरकारले गुरुयोजना नै तय गरेर काम गरिरहेको पनि स्पष्ट पार्नुभयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकाको अधिकारको क्षेत्रमा सरकारले उत्साहका साथ काम गरिरहेको दावी गर्नुभयो । उहाँले स्थानीय तहसम्म पनि बाल अधिकार हनन् हुन नदिन सरकारले सहकार्यका साथ काम गरिरहेको पनि बताउनुभयो । 

सरकारले बाल अधिकार हनन् हुन नदिन उनीहरुको शिक्षा र स्वास्थ्यको अधिकारलाई सुनिश्चित गराउन लागि परेको दाबी गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया