अराजक र उच्छृङ्खल गतिविधिले देशलाई नै विभाजनतिर लैजाने खतरा बढ्याे : मन्त्री भट्टराई

 भदौ ३१, २०७६ मंगलबार १३:२७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उच्छृङ्खल गतिविधि रोक्ने गरी नयाँ पिढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाण्डौमा उद्घाटन गर्दै उहाँले समाजमा हुने अराजकता र उच्छृङ्खल खालका गतिविधिले देशलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने हुँदा प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यमबाट नयाँ पिढीलाई दीक्षित गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । 

‘अराजकताले देशलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरुले नयाँ पिढीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराउनुभयो । उहाँले विविधतायुक्त देशलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यक्तामा पनि जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया