दशैँका लागि खाद्य संस्थानले पोहोरको भन्दा दोब्बर खसीबोका र च्याङग्रा काठमाण्डौ ल्याउने

 असोज १, २०७६ बुधबार १०:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्षको दशैँका लागि नेपाल खाद्य संस्थानले पोहोरको भन्दा दोब्बर बढी खसीबोका र च्याङग्रा काठमाण्डौ ल्याउने भएको छ ।

गएको वर्ष खसीबोका र च्याङग्रा गरी १२, १३ सयको हाराहारीमा ल्याएकोमा यो वर्ष एक हजार खसीबोका र २ हजार च्याङग्रा गरी ३ हजार खसीबोका र च्याङग्रा ल्याउन लागिएको संस्थानका अर्थ तथा आर्थिक विभागका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

यो वर्ष दाङ र हेटौँडाबाट खसीबोका र मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी भैरहेको उहाँले बताउनुभयो । दशैँको बेला काठमाण्डौमा ५० देखि ६० हजार खसीबोका र च्याङग्राको माग हुने गरेको छ । संस्थानले घटस्थापनाको भोलिपल्टदेखि खसिबोका र च्याङग्रा ल्याउने भएको छ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि कार्यालयका प्रतिनिधि, खाद्य संस्थानका प्रतिनिधि र किसान बसेर मूल्य निर्धारण गरेर खसीबोकाको मूल्य तोक्ने र बिक्री गर्दा उपत्यकामा चलेको बजार मूल्य भन्दा किलोमा १० रुपैयाँ सस्तो दिने तयारी भएको पनि खनालले बताउनुभयो ।

किनेर ल्याइएको खसीबोका र च्याङग्रालाई थापाथलीमा रहेको संस्थानको कार्यालयमा राखिने र त्यहीँबाट बिक्री गरिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया