प्रधानमन्त्रीद्वारा संसद भवनकाे शिलान्यास, समयमै काम सक्न र विभिन्न बहानामा पैसा नथप्न निर्देशन

 असोज १, २०७६ बुधबार १४:२८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिनुभएको छ ।

बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले केही व्यक्तिहरु जसरी पनि वातावरण बिगार्ने काममा लागिरहेको उल्लेख गर्दे सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन । डेमोक्रेसीमाथि, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्‍याे भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।’

‘डेढ वर्ष भईसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले  गम्भीर रुपमा लिएको र अझै गतिका साथ अघि बढ्ने आश्वासन दिनुभयो । उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स् सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ पनि असन्तुष्टि जाहेर गर्नुभयो । ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न बहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्माण कार्यमा बिलम्ब हुने गर्‍या छ । यो बिलम्ब मान्य हुँदैन । जति समय भनिएको छ त्यो समयभित्र काम सम्पन्न हुनुपर्छ । गुणस्तरमा कुनै सम्झौता हुँदैन । गुणस्तरीय हुनुपर्छ । कबुलभन्दा पछि पैसा थप्ने काम हुदैन । धेरै बिग्रेका परिपाटीहरु छन् । त्यसलाई मानिदैन ।’

नेत्र विक्रम चन्द समूहका क्रियाकलापप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले हिंसा नितान्त ‘वितण्डा’ मात्रै भएको टिप्पणी गर्नुभयो । हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप  सरकारलाई कुनै पनि अवस्थामा सह्य नहुने भन्दै उहाँले आवश्यक परे नियन्त्रणकारी भूमिका पनि खेल्न सकिने बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया