यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन

 असोज १, २०७६ बुधबार १४:५९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकतासम्बन्धी विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनुभएको छ । 

पार्टी संसदीय दलका नेतासमेत रहनु भएका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको हुँदा त्यो विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो । 

देउवाले बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाएर नागरिकतासम्बन्धी विधेयक पार्टीको अडान अनुसार संशोधन नगरि पारित हुन नदिन सांसदहरुलाई निर्देशन दिनुभएको पार्टीका राष्ट्रिय सभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन नागरिकतासम्बन्धी विधेयकमा नेपाली कांग्रेसका सांसदहरुले फरक मत राख्दा त्यो अघि बढ्न सकेको छैन 

विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली कांग्रेसले मत राख्दै आएको छ । सभापति देउवाले पार्टीको अडान नछाड्न पनि समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत गराउनुभयो ।

बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धी विधेयक पनि संसदबाट जबरजस्ती पारित गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया