सहाना प्रधानको स्मृति दिवस आज

 असोज ६, २०७६ सोमबार १०:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तत्कालीन एमालेकी नेतृ सहाना प्रधानको स्मृति दिवस । महिलाले पनि पुरुष सरह अधिकार पाउनुपर्छ भन्ने अभियानबाट राजनितिक यात्रा सुरु गरेकी सहाना २०४६ सालको जनआन्दोलनमा संयुक्त बाममोर्चाको संयोजक हुनुहुन्थ्यो ।

प्रधान २००९ सालमा नेपालबाट स्नातक तहको परीक्षा दिने ७२ जना परीक्षार्र्थी मध्ये एकमात्र महिला हुनुहुन्थ्यो ।

नेपाली महिला आन्दोलन, नागरिक अधिकार, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको एउटा मियो भएर काम गर्नुभएकी सहाना प्रधानको जन्म काठमाण्डौको असनमा भएको हो । मध्यमवर्गीय व्यापारी परिवारमा उहाँ विसं १९८४ साल असार ३ गते जन्मनुभएको थियो ।

२००४ साल वैशाख १७ गते पहिलोपटक संगठित रुपमा राणा विरोधी नारा लगाउने चार जना महिलामा उहाँ पनि हुनुहुन्थ्यो । त्यसपछि उहाँ पक्राउ पर्नुभयो । महिलालाई शिक्षा दिलाउन १५ दिन आमरण अनसन बसेपछि तत्कालीन प्रधानमन्त्री पद्म शमशेर सहानासित झुके र महिलाले पनि पढ्न पाउने आश्वासन दिए । २००५ मा भाइसँगै लखनउ गएर आईए पढेपछि २००७ सालमा नेपाल फर्कनुभयो । त्यसपछि काठमाण्डौको कन्यामन्दिर, शान्ति निकुञ्ज र सीताराम हाइस्कूलमा पढाउनुभयो ।

त्यसपछि उहाँ कम्युनिष्ट पार्टीमा काम समेत थाल्नुभयो । २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिनुभयो । २००९ सालमा पुष्पलाल श्रेष्ठसँग उहाँको विवाह भयो ।

२०३५ सालमा पुष्पलालको निधनपछि पुष्पलाल समूहको नेतृत्वको पार्टीमा उहाँ प्रवक्ता हुनुहुन्थ्यो । २०४३ मा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीको सचिव हुनुभयो । जनआन्दोलन २०४६ मा उहाँले बाममोर्चाको अध्यक्ष भएर आन्दोलन हाँक्नुभयो ।

२०४८ र २०५१ को आम निर्वाचनमा उहाँ प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । २०४६ सालको राजनीतिक परिवर्तनपछि उहाँ पटकपटक मन्त्री पनि हुनुभयो । पार्टीले सञ्चालन गरेको आन्दोलनमा मात्र होइन, महिला अधिकारको आवाज उठाउनुपर्दा उहाँ आफैँ मोर्चाको अग्रपंक्तिमा उभिनुहुन्थ्यो ।

सहाना प्रधानको २०७१ साल असोज ६ गते काठमाण्डौको बयोधा अस्पतालमा निधन भएको थियो । उहाँको सम्झनामा सोमबार विभिन्न कार्यक्रम गरिँदैछ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया