प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाउनु भएको छ ।
सभापति देउवाले संविधान र कानुनविपरीत बूढीगण्डकी जलविद्युत् आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गर्नुभयो ।
‘बिना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बूढीगण्डकी जलविद्युत् आयोजनाको कामलाई अघि बढाइएको छ’, देउवाले भन्नुभयो, ‘संविधान र कानुनी रुपमा पनि बिना प्तिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएपछि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको स्पष्ट हुन्छ ।’
कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले लेख्नुभएको पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाण्डौमा विमोचन गर्दै देउवाले ओली सरकारले शून्य सहनशीलताका कुरा गरेर देशलाई भ्रष्टाचारको काण्डै काण्डमा डुबाएको दाबी गर्नुभयो । सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको र त्यो सह्य नहुने चेतावनी दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि आफ्नो पार्टी आगामी निर्वाचनमा विजयी हुने दाबी गर्नुभयो ।
उहाँले पार्टीलाई अघि बढाउन पार्टीभित्रको एकतामा पनि जोड दिनुभयो । पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने महामन्त्री कोइरालाको भनाइ थियो ।
महामन्त्री कोइरालाले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारले गरेका कामको पनि तुलनात्मक अध्ययन हुने गरी पुस्तक लेख्नुपर्ने आवश्यक्ता रहेकाे औंल्याउनु भयो ।