मलद्वारमा लुकाएर ल्याएकाे पाैने ४ किलाे सुनसहित ४ जना विदेश...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – दशैँ, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापनलगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनै पनि समस्या नपर्ने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यात्रा सहज बनाउनको लागि हामी २०/२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’
उहाँले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको जानकारी दिनुभयो । नागरिक कक्षका कारण यात्रुहरुको गुनासो तत्काल सम्बोधन हुने र यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले त्यहीअनुसारको ट्राफिक व्यवस्थापन गरेका छौं । सवारी आवागमन धेरै छ, किनमेल गर्न जानेदेखि लिएर अन्य कुराको भिड छ ।’
उहाँले यात्रुहरुलाई सहज होस भनेर नै सरोकारवाला निकायसँगको सहकार्यमा बसपार्कहरुमा नागरिकता सहायता कक्ष पनि सञ्चालनमा ल्याइएको सुनाउनु भयो । उहाँले एक दुई दिनभित्र अन्य स्थानमा पनि यस्तै कक्ष सञ्चालनमा आउने बताउनुभयो ।
उहाँले काठमाण्डौको ट्राफिक व्यवस्था राम्रो रहेको दाबी गर्नुभयो । दैनिक सवारी नियम उल्लंघन गर्ने १६, १७ सय सवारीहरु कारबाहीमा पर्ने गरेको पनि उहाँले आँकडा सुनाउनुभयो ।
त्यस्तै ढकालले केही समस्या परे सिधै आफूहरुलाई सम्पर्क गर्न पनि सुझाव दिनुभयो । त्यसको लागि उहाँले १०३ मा सम्पर्क गर्न र आफूहरु चौबिसै घण्टा सेवामा समर्पित रहेको पनि बताउनुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘साउनमा मात्रै हामीले एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये तीन सय ४० वटा फर्म कारबाहीको दायरामा आएका छन् । एक सय ६० वटा फर्मलाई त २० लाख रुपैयाँसम्म जरिवाना गराएका छौँ ।’ चाडपर्वको मुखमा कालोबजारी र मुल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्ने पनि उहाँले आश्वासन दिनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो, ‘अहिले सरकारी नाटक सुरु भएको छ । वास्तविक अनुगमन भएकै छैन ।’
उहाँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनलाई अहिले भ्याइ नभ्याइ भएको टिप्पणी गर्नुभयो । ‘एक जनालाई धेरै जिम्मेवारी दिइएको छ, त्यसैले उहाँलाई भ्याइ नभ्याइ छ’, बानियाँले भन्नुभयो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले दशैँमा काठमाण्डौ उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको बताउनुभयो ।
सिटौलालले भन्नुभयो, ‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाण्डौ बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्नेगरी गृहकार्यमा जुटेका छौं ।’ साथै यस पटक आफूहरुले अनलाइनमार्फत टिकट बुकिङ गर्ने अपेक्षा गरे पनि अन्तिम समयमा आएर त्यस्तो व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।