ऊर्जामन्त्री पुन जापान जाँदै, ४१७ मेगावाटको नलसिङगाड आयोजनामा सम्झौता हुने सम्भावना

 असोज ६, २०७६ सोमबार २१:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ सोमबार राति जापान जाँदै हुनहुन्छ । 

जापानी विकास नियोग (जाइका) को निमन्त्रणामा मन्त्री पुन सोमबार चार दिने जापान भ्रमणमा जान लाग्नुभएको हो । जापान भ्रमणमा जानुअघि ऊर्जा मन्त्री पुनसँग जापानी राजदूत मासामिची साइगोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  

सिंहदरबारको ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

जापानी राजदूतले भेटमा मन्त्री पुनको जापान भ्रमण र त्यसका एजेण्डाबारे छलफल गर्नुभएको थियो । ऊर्जा मन्त्री पुनसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि  जापान जाँदै हुनुहुन्छ  । 

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानको लिबरल डमोक्रेटिक पार्टीका महासचिव निकाई टोसिहिरो, जाइकाका उपाध्यक्ष हिरोसी कातो, जापानको कृषि तथा वन मामिलासम्बन्धी मन्त्री इटो योशिताका, जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै नेपाल–जापान पार्लियामेन्टिरियन्स फ्रेण्डशिप लिगका अध्यक्षसहितका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

मन्त्री पुनले जापान भ्रमणको क्रममा नेपालको जलविद्युत् क्षेत्रमा सम्भावना र  लगानीबारे पनि जापानी लगानीकर्तासँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।

कार्यक्रममा फुजी र कान्साईलगायतका विश्वप्रख्यात कम्पनीको पनि सहभागिता रहनेछ । त्यसका साथै जापानमा बसोबास गरिरहेका नेपाली समुदायसँग समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री पुनको सचिवालयले जनाएको छ । 

मन्त्री पुनले जाइकाका उपाध्यक्षसँगको भेटमा जाजरकोटमा रहेको चार सय १७ मेगावाटको नलसिङगाड जलविद्युत् परियोजनालाई अन्तिम टुंगो लगाउने विषयमा समेत छलफल गर्नुहुनेछ । 

नलसिङगाड परियोजना जाईकाले पीपीपी मोडेलमा अध्ययन गरिरहेको छ । परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न ऊर्जामन्त्री पुन जापान भ्रमणमा जान लाग्नुभएको उहाँका स्वकीय सचिव दुर्गा चापागाईँले जानकारी दिनुभयो  । 

मन्त्री पुनले यसअघि पनि जापानी राजदूत साइगोसँगको नलसिङगाड जलविद्युत् आयोजनालाई अघि बढाउने विषयमा छलफल गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया