नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोग गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर

 असोज ७, २०७६ मंगलबार १३:४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोग आदानप्रदान गर्नेबारे ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, गोष्ठी तथा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने विषयलाई पनि महत्वका साथ राखिएको छ । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट शासन पद्धति, त्यहाँको विकासका चरणहरु बुझ्न नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सहकार्यमा छलफल कार्यक्रम राखेको हो ।

कार्यक्रममा नेकपाका २ सय जना केन्द्रीय नेता, वामपन्थी बुद्धिजीविहरुको सहभागिता थियो । यसैबीच नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आफ्नो पार्टी कुनै खास देशतिर नढल्कने स्पष्ट पार्नुभएको छ ।

ट्विट गर्दै उहाँले कुनै देश वा प्रयोगको अन्धनक्कल नगरी आफ्नै मौलिक बाटोबाट अघि बढिरहेको र त्यो सँधै रहने पनि बताउनुभयो । प्रवक्ता श्रेष्ठले देशको भूराजनीतिक अवस्था र संवेदनशीलताको बारेमा पनि आफूहरु जानकार रहेको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया