कजाकस्तानको पर्यटन मेलामा नेपाल पुरस्कृत, नेपाली स्टलमा दर्शकको चासो

 असोज ७, २०७६ मंगलबार १७:२४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कजाकस्तानको नूरसुल्तानमा भएको प्यासिफिक एसिया टुर्स एन्ड ट्राभल मार्ट अर्थात पाटा मार्टमा नेपाल पुरस्कृत भएको छ ।

मार्टमा सहभागिता जनाएको पाटा नेपाल नेपाल च्याप्टर लगातार तेस्रो पटक ‘पाटा बेस्ट इन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफशनल’ पुरस्कारबाट पुरस्कृत भएको हो । यो अवार्ड पाटाले प्रत्येक वर्ष विश्वभरि रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्तासँगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मूल्यांकका आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ ।

पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले ५ वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीहरु सेप्टेम्बर १८ देखि २० सम्म कजाकस्तानको नूरसुल्तान (अस्टाना) मा भएको पाटा ट्राभल मार्टको ४२ औँ संस्करणमा ‘नेपाल पेभिलियन’ राखेर सहभागिता जनाएका थिए ।

पाटा ट्राभल मार्ट २०१९ मा विश्वभरीका ६३ गन्तव्यहरुबाट १२ सय सहभागीहरुले सहभागिता  जनाएका छन् । जसमा १८० वटा संघ संस्था÷कम्पनीहरु तथा ३४ वटा गन्तव्यहरुबाट  ३ सय ४७ विक्रेता सहभागीहरु र २ सय ४४ वटा संस्थाहरु तथा ४८ स्रोत बजारहरुबाट  २ सय ५२ क्रेताहरुबीच व्यापार आदानप्रदान तथा गन्तव्य प्रवर्द्धन भेटघाट÷छलफल कार्यक्रमहरु गरिएको थियो ।

पर्यटन बोर्ड र पाटा नेपालले मार्टमा अन्तर्राष्ट्रिय एवम स्थानीय सहभागीहरुलाई नेपालको पर्यटन प्रवर्द्धन र गन्तव्यहरुबारे जान्कारी प्रदान गराएका थिए । त्यस्तै निजी क्षेत्रबाट सहभागी पर्यटन व्यवसायीहरुले नेपालको प्रोडक्ट प्याकेज तथा व्यापार अवसरहरुबारे विश्वव्यापी क्रेतासमक्ष छलफल भेटघाट गरेका छन् ।

नेपाल पेभेलियनमा, ट्रेकिङ्ग तथा साहसिक पर्यटन बाहेक नेपालको संस्कृति, वेलनेस, लक्जरीलगायत अनुभवमा आधारित पर्यटकीय प्रोडक्ट तथा सेवाहरुकोबारेमा समेत सहभागीहरुले अभिरुचि देखाएका थिए ।

मार्टमा आमन्त्रित क्रेताहरु तथा सहभागीबीच आगामी वर्ष फेब्रुअरी तथा जूनमा आयोजना गरिने नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) र हिमालयन ट्राभल मार्ट २०२० को समेत प्रचारप्रसार एवम प्रवर्द्धन गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया