एक हजार घुस खाएको आरोप लागेका कर्मचारीद्वारा आत्महत्या

 असोज ७, २०७६ मंगलबार १७:३८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

भक्तपुर – एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन् ।

अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गएकाे भदौ ३१ गते धरौटीमा रिहा भएको एक सातामै सुनसरी इनरुवा नगरपालिका–५, घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । मृतक सुवेदीको शव भक्तपुर अस्पतालमा पोस्टमर्टम गरिएको छ ।

कलंकी मालपोत कार्यालयमा खरदारका रुपमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको थियो ।  त्यसपछि अख्तियारले हाजिर हुन कार्यालयमा बोलाइ कार्यालयबाटै गएको साउन २२ गते पक्राउ गरी थुनामा राखेको थियो ।

२१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ लिँदा ज्यानै गुमाउनु परेको अस्पताल आएका आफन्तले बताएका छन् । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आरोप लगाएका छन् ।

गएको माघ महिनामा बाबुको निधन भएको परिवारमा सुवेदीले पनि आत्महत्या गरेपछि परिवारमा एकै वर्षमा दुई वटा शोक परेको छ । सुवेदीको श्रमती, १४ वर्षका एक छोरा, एक छोरी र वृद्ध आमा छन् । सुवेदीको आजै दाहसंस्कार गरिने परिवारले बताएका छन् ।

आफन्तले भने लाखाैँ, करोडौँ घुस खानेहरुलाई अख्तियारले केही गर्न नसकेको तर एक हजार रुपैयाँ खाजा खर्च लिनेलाई आत्महत्या गर्न बाध्य पार्ने गरी अनुसन्धान गरेको आरोप लगाएका छन् । 

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • aaaa

    Sept. 28, 2019, 11:23 p.m.

    करोडौं घुस लिएर केस आफुले नि लुकाएर मिलाउने, आफ्नो काम देखाउनलाई सानोतिनो कमजोर मान्छेलाई पेल्दिने ??

  •  0 Reply
  • Bikash katwal

    Sept. 25, 2019, 10:01 p.m.

    हो नेपालमा पैसार पावर ले जे पनि गर्छ केहि समुदायले नेपाललाई लुटिरकोछ करौडौको भ्याट छल्छ अनुगमन खै ???

  •  0 Reply

तपाईको प्रतिक्रिया