बन्दुक बोक्ने सबै कम्युनिष्ट हुने भए नेपाली कांग्रेस २००७ सालमै कम्युनिष्ट भैसक्थ्यो : बिजुक्छे

 असोज ७, २०७६ मंगलबार १७:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले क्रान्ति पूरा गर्न पार्टीले आफूलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको बताउनु भएको छ ।

मंगलबार कमलविनायकस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफू पार्टीको कार्यकर्ता मात्रै भएको र सातौँ महाधिवेशनले आफूलाई पुनः जिम्मेवारी दिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले भन्नुभयो, ‘हामी पार्टीका कार्यकर्ता हौँ, पार्टीले जे जिम्मेवारी दियो, त्यही जिम्मेवारी लिने हो, देशमा अझै मार्क्सवाद ल्याउन बाँकी छ, मार्क्सवादको त्यही क्रान्ति पूरा गर्न पार्टीले मलाई पुनः अध्यक्षको जिम्मेवारी दियो ।’

देशमा समाजवाद र साम्यवादी व्यवस्था नआएसम्म क्रान्ति जारी रहने बताउदै बिजुक्छेले बन्दुक बोकेर क्रान्ति नआउने र बन्दुक बोकेकै भरमा कोही पनि कम्युनिष्ट नहुने बताउनुभयो ।  बिजुक्छेले भन्नुभयो, ‘बन्दुक बोकेकै भरमा माओवादीलाई कम्युनिष्ट भन्न सकिन्न, बन्दुक बोक्ने सबै कम्युनिष्ट हुने भए नेपाली कांग्रेस २००७ सालमा कम्युनिष्ट भैसक्थ्यो, पृथ्वीनारायण शाहदेखि राणाहरु समेत उहिल्यै कम्युनिष्ट भइसक्थे ।’

देशमा नेमकिपा मात्रै साँचो अर्थमा प्रतिपक्ष रहेको दाबी गर्दै उहाँले भागबण्डामा सहभागी हुने पार्टी प्रतिपक्ष हुन नसक्ने र भागबण्डामा सहभागी हुने नेपाली कांग्रेस प्रतिपक्ष हुन नसक्ने तर्क राख्नुभयो । नेपाली कांग्रेस र अहिलेको सरकारमा कुनै भिन्नता नरहेको टिप्पणी गर्दै उहाँले पञ्चायतको पद्धतिमा कांग्रेस, कांग्रेसकै शैलीमा अहिलेको सरकार सञ्चालन भएको आरोप उहाँको थियो ।

अन्य दललाई ‘नेमकिपा खुम्चिएर जान्छ भन्ने भ्रम नपाल्नुहोस’ भन्दै बिजुक्छेले यो पार्टी नेवारको मात्रै पार्टी हो भनेर भ्रम फैलाउनेहरुलाई जवाफ दिन सातौँ महाधिवेशनले सबै जातजाति, एवं भाषाभाषी र भूगोललाई समेटेर केन्द्रीय समिति गठन गरेको बताउनुभयो ।

नेमकिपाको पहिलो बैठकले तोक्यो सचिवालय र प्रदेश संयोजक

त्यसैगरी नेमकिपाको सातौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको मंगलबार बसेको पहिलो बैठकले अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, सुनिल प्रजापति र नन्दबहादुर शाही रहेको केन्द्रीय सचिवालय गठन गरेको छ भने केन्द्रीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

बैठकले पार्टी सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई चयान गरेको छ । २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएकोमा बैठकले रविन्द्र ज्याख्वालाई केन्द्रीय सदस्यमा एवं राजेन्द्र चवाल र नारायणबहादुर दुवाललाई वैकल्पिक केन्द्रीय सदस्यहरुमा मनोनित गरी २८ सदस्यीय केन्द्रीय समिति विस्तार गरेको छ ।

त्यसैगरी बैठकले केन्द्रीय सदस्यमध्ये प्रदेश नं. १ मा उकेश कवां, प्रदेश नं. २ मा सुरेन्द्रराज गोसाई, प्रदेश नं. ३ मा प्रेम सुवाल, प्रदेश नं. ४ मा डिल्लीप्रसाद काफ्ले, प्रदेश नं. ५ मा हरिसुन्दर वासी, प्रदेश नं. ६ मा सरोजराज गोसाई र प्रदेश नं. ७ मा नन्दबहादुर शाहीलाई प्रदेश संयोजक चयन गरेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया