साउन महिनाको आर्थिक स्थिति : मूल्यवृद्धि झण्डै ७ प्रतिशत पुग्यो, प्रत्यक्ष वैदेशिक लगानी झण्डै ५ गुणाले बढ्यो

 असोज ७, २०७६ मंगलबार १८:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा मूल्यवृद्धि झण्डै ७ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले मूल्यवृद्धि बढेको देखाएको छ । अघिल्लो आर्थिक वर्षको साउन महिनामा ४ दशमलव १९ प्रतिशत रहेको मूल्यवृद्धि यो आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ६ दशमलव ९५ प्रतिशतमा पुगेको हो ।

साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत  तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । काठमाण्डौ उपत्यकामा ८ दशमलव ६३ प्रतिशत, तराईमा ६ दशमलव ४६ प्रतिशत, पहाडमा ५ दशमलव ९२ प्रतिशत र हिमालमा ५ दशमलव ५७ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

आयातको तुलनामा निर्यातको दर बढ्यो

आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु निर्यात २७ दशमलव ७ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो साउनमा निर्यातको दर जम्मा ३ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । वस्तुगत आधारमा पाम तेल, अलैँची, दन्त मञ्जन, जुटका सामान, पोलिस्टर यार्नलगायतका वस्तुको निर्यात बढेको छ भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैँचालगायतका वस्तुहरुको निर्यात घटेको छ ।

यस्तै आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु आयात पोहोरको भन्दा ११ दशमलव ५ प्रतिशतले घटेको छ । साउनमा १ खर्ब ६ अर्ब ७३ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । अघिल्लो वर्षको साउनमा आयातको दर ५४ दशमलव ३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने  देशका आधारमा भारत तथा अन्य देशबाट भएको आयात क्रमशः ४ दशमलव ५ प्रतिशत र ४१ दशमलव २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात २४ प्रतिशतले बढेको छ ।

सेवा आय घाटामा

साउन महिनामा खुद सेवा आय ३ अर्ब १२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको साउनमा खुद सेवा आय ३ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत साउनमा भ्रमण आय ७ दशमलव ६ प्रतिशतले बढेर ४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ४ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

यस्तै साउनमा विदेश घुम्न जानेहरुले गर्ने खर्च अर्थात भ्रमण व्यय ८ दशमलव ३ प्रतिशतले घटेर ७ अर्ब २ करोडमा झरेको छ । यसमध्ये शिक्षातर्फको खर्च ३ अर्ब ४९ करोड रहेको छ । अघिल्लो वर्षको साउनमा  भ्रमण व्यय ७ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

विदेश जाने घटे, रेमिट्यान्स बढ्यो

राष्ट्र बैंकले प्रकाशित गरेको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउनमा रेमिट्यान्स २ प्रतिशतले बढेर ७५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स ३३ दशमलव १ प्रतिशतले बढेको थियो । यस्तै अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउनमा १९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा विदेश जानेको संख्या संख्या ३० दशमलव ८ प्रतिशतले घटेको थियो । 

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउनमा १ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या १ दशमलव १ प्रतिशतले बढेको थियो ।

प्रत्यक्ष वैदेशिक लगानी बढ्यो, चालु खातामा सुधार

पोहोरको तुलनामा यो साउनमा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ । पोहोरको साउनमा २९ करोड ५७ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएकोमा यो साउनमा १ अर्ब ४४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

साउनमा  चालु खाता घाटा ९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको साउनमा चालु खाता घाटा २५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ८५ लाखले घाटामा रहेको चालु खाता यो साउनमा ८ करोड ४० लाखले घाटामा रहेको छ ।

यस्तै साउनमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनमा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोडले घाटामा रहेको थियो । अघिल्लो साउनमा अमेरिकी डलरमा शोधनान्तर स्थिति २२ करोड ५० लाखले घाटामा रहेकोमा यो साउनमा ५ करोड ४२ लाखले बचतमा रहेको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया