राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले १ हजार ल्यापटप बाँड्दै

 असोज ७, २०७६ मंगलबार १९:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले १ हजार ओटा ल्यापटप बाँड्ने तयारी गरेको छ ।

देशभरका ७५३ पालिकाहरुका लागि भन्दै विभागले १ हजार ओटा ल्यापटप खरिद गर्ने काम अघि बढाएको छ । गएको साउन १४ गते टेण्डर आह्वान गरेको विभागले रीतपूर्वक टेण्डर भरेका ४ वटा कम्पनीमध्ये ओम्नि बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि, पाटन ढोका ललितपुरलाई ल्यापटप खरिद गर्ने जिम्मेवारी दिएको छ ।

विभागले बोलपत्र पेश गरेकामध्ये ओम्नि बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालिलाई छनौट गरेको सूचना प्रकाशित गरेको छ । १ हजार ओटा ल्यापटप खरिद गर्न ७ करोड १७ लाख ६६ हजार ३ सय रुपैयाँ स्वीकृत गरेको पनि विभागले जनाएको छ ।

विभागले सञ्चालन गरेको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै पालिकाहरुमा रहने सेवा इकाईका लागि ल्यापटप खरिद गर्न लागिएको विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

व्यक्तिगत घटना दर्तालाई अनलाइन प्रणालीमा आधारित बनाउने तथा सामाजिक सुरक्षा कार्यक्रमलाई पनि अनलाइन प्रविधिमा लैजानका लागि विभागले हरेक स्थानीय तहमा सेवा इकाई राखेको पनि सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

विभागले देशैभरका पालिकाहरु मा रहने इकाईका लागि आवश्यक पर्ने झण्डै २ हजार जनशक्ति पनि करारमा भर्ना गर्दैछ ।

इकाईका लागि म्यानेजमेन्ट इन्फरमेसन सिस्टम(एमआईएस)अपरेटर र फिल्ड सहायक पदमा कर्मचारी चाहिएको र विभागले खुला प्रतिस्पर्धाद्वारा करारमा नियुक्ति गर्न आवेदन आह्वान गरिसकेको पनि उहाँले बताउनुभयो ।

दुवै पदमा झण्डै ५१ हजारभन्दा बढीले आवेदन दिएका छन् । अपरेटरका लागि १८ हजार ६१ जना र फिल्ड सहायक पदका लागि ३३ हजार २ सय ६९ जनाले आवेदन दिएको विभागले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया