ऊर्जा मन्त्री पुन र जापानी मन्त्रीबीच भेटवार्ता, नेपालमा सहयोग बढाउन जापान तयार

 असोज ८, २०७६ बुधबार १७:४६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापानको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र जापानका मन्त्रीहरूबीच भेटवार्ता भएको छ ।

मन्त्री पुनले बुधबार जापानका संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्य मन्त्री योसिताका इतोसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

ऊर्जा र जलविद्युत्लगायतका क्षेत्रमा लगानी आकर्षित गराउने उद्देश्यका साथ चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले भेटवार्तामा दुई देशको मैत्रीपूर्ण सम्बन्ध, जापानले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग र लगानीको खुलेर प्रशंसा गर्नुभएको छ । उहाँले नेपालमा जापानी प्रविधि र लगानी भित्र्याउन समेत आह्वान गर्नुभएको छ ।

भेटमा मन्त्री पुनले ४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनामा समेत लगानीको लागी आग्रह गरेको जानकारी दिनुभयो ।  जापानी उपमन्त्री नोरुहिरो नाकायामाले नेपालमा गरिने लगानी र सहयोगमा बढोत्तरी गरिने प्रतिबद्धता जनाउनुभएको छ । जापानका सम्राटको राज्यभिषेक कार्यक्रममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने थाहा पाउँदा खुशी लागेको पनि उहाँले बताउनुभयो ।

मन्त्री पुनले बिहीबार जाइकाका कार्यकारी उपाध्यक्षसँग नलसिंहगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया