नेपाली कांग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने

 असोज ९, २०७६ बिहिबार १२:५२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरु विस्मृतिमा पर्दै गएको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई पनि उनीहरुको योगदानबारे जानकारी दिने उद्देश्यका साथ उनीहरुको योगदानको चित्रण हुने गरी ‘स्मृति गन्थ’ निकाल्न लागिएको जानकारी दिनु भएको हो ।

बिहीबार काठमाण्डौको ओम बहालमा निर्माण गरिएको पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै उहाँले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा सभापति देउवाले राजतन्त्र विरोधी आन्दोलनमा नेता शाक्यले निर्वाह गर्नु भएको भूमिकाको पनि चर्चा गर्नुभयो ।

सभापति देउवाले राजतन्त्रविरुद्ध नेता शाक्यले खेल्नु भएको भूमिकाको जति चर्चा गरे पनि कमै हुने पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया