कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी छिटो पूरा गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

 असोज ९, २०७६ बिहिबार १५:५४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समीक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको काममा तीव्रता दिन पनि आफूहरुलाई सचेत गराउनु भएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले महत्वपूर्ण र ठूला काम हुन नसकेमा सानासाना काम सम्पन्न हुनाको अर्थ हुँदैन भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन पनि आग्रह गर्नुभयो ।

बैठकमा एक मन्त्रालयका फाइल अर्को मन्त्रालयमा रोकिएर पनि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्रह गर्दै फाइन बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्को मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गर्नुभयो । उहाँले सही समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी चल्ते चलाते ढङ्गले होइन, नवीनता र सहजताका साथ अगाडि जान चाहन्छौँ । जटिलता होइन । सहजता खोज्नुपर्छ ।’

एक महिनाअघि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ– आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौता गर्नु भएको थियो । त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समीक्षा गरिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्य प्रगति विवरण पेश गरिएको थियो भने त्यसमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुले आ-आफ्ना मन्त्रालयको कामको प्रगति र काम गर्न देखिएको नीतिगत समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनमा तीव्रता दिन मन्त्रीहरुलाई सचेत गराउनु भएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया