'पलेँटी' बाट सार्वजनिक भयो कवि तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’

 असोज ११, २०७६ शनिबार १२:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कवि तीर्थ श्रेष्ठको नयाँ कविताहरूको संग्रह ‘धर्सैधर्साको चक्रव्यूह’ सार्वजनिक भएको छ । नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ को सांगीतिक माहोलमा १० गते शुक्रबार साँझ श्रेष्ठको नयाँ कविता संग्रह विमोचन भएको हो ।

कुनै बेला तरलवादको नामले चिनिएका, साहित्यिक अभियानमा लागेका कवि तीर्थ श्रेष्ठ गीतकारकारुपमा पनि परिचित छन् । यस पटकको ‘पलेँटी’ कवि श्रेष्ठको गीत तथा कविता लेखनको बारेमा केन्द्रित भएको थियो । कार्यक्रममा उनले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत भएका थिए । संगीत र साहित्यको संगमले गर्दा उहाँको पुस्तक विमोचन कार्यक्रम चलनचल्तीका पुस्तक विमोचनभन्दा पृथक देखिन्थ्यो ।   

कवि श्रेष्ठको नयाँ कवितासँग्रह ‘धर्सैधर्साको चक्रव्यूह’ र उहाँको सम्पूर्ण काव्यिक व्यक्तित्वमाथि निबन्धकार रोशन शेरचनले मन्तव्य व्यक्त गरेका थिए । ‘तीर्थ श्रेष्ठ अथवा तीर्थ दाइ सरल भाषामा गहिरो कुरा भन्ने सामर्थ्य भएका कवि हुनुहुन्छ’, निबन्धकार रोशनले टिप्पणी राख्दै भने, ‘तीर्थ श्रेष्ठका कवितामा रहेको जीवन दर्शनले हाम्रो भित्री मनलाई सहजै स्पर्श गर्छ ।’ 

पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको सहकार्यमा भएको थियो । कवि तीर्थको नयाँ कविता संग्रहमा एक सय आठ वटा कविताहरू संलग्न रहेका छन् । 

तीर्थ श्रेष्ठको पलेँटीमा प्रस्तुत भएका सबै गीतलाई मीना निरौला र योगेन्द्र उपाध्यायले स्वर दिएका थिए । वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गिटारमा सुरज प्रधान रहेका थिए ।

अंग्रेजी महिनाको अन्तिम हप्ता सञ्चालन हुँदै आएको पलेँटी शनिबार र आइतबार पनि हुँदैछ । बाँकी दुई दिनका पलेँटी पनि संगीत र साहित्यमै केन्द्रित रहेको आयोजकले जनाएको छ । 

११ गते शनिबार साँझको पलेँटीमा कवि तथा गीतकार कालीप्रसाद रिजाल प्रस्तुत हुनेछन् । संगीत र कविताकै माहोलमा रिजालको संस्मरण  ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक हुने भएको छ ।

त्यस्तै १२ गते आइतबार साँझको पलेँटीमा कवि मञ्जुल प्रस्तुत हुनेछन् । पलेँटीको उस्तै माहोलमा मञ्जुलको पुनः प्रकाशित गीति-यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरिनेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया