अर्जुन कपूर भन्छन् : ‘कबिर सिंह’ मा निर्माताको पहिलो रोजाइमा म थिएँ

 असोज १३, २०७६ सोमबार २१:४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

‘कबिर सिंह’ चलचित्र वर्ष २०१९ को सर्वाधिक हिट चलचित्र बन्यो । शाहिद कपूर र कियारा अडवाणीको मुख्य भूमिका रहेको चलचित्रले २७५ करोड भारुमाथिको व्यापार गर्‍यो । 

चलचित्र प्रदर्शन भैसकेपछि यसको आलोचना पनि भयो । तर दर्शकले यो चलचित्रलाई निकै रुचाइदिए । ‘कबिर सिंह’ ले शाहिद कपूरको ओरालो लागेको फिल्मी करियरलाई एकाएक उचाइमा पुर्‍याइदियो । 

अहिले यो चलचित्रलाई लिएर अर्का अभिनेता अर्जुन कपूरले बयान दिएका छन् । भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका अनुसार अर्जुन कपूर यो चलचित्रमा मुख्य अभिनेताको रुपमा काम गर्न चाहन्थे । तर निर्देशक सन्दीप रेड्डी वागाले पहिले नै शाहिद कपूरलाई वचन दिइसकेका थिए । चलचित्रका निर्माता मुराद खेतान र अश्विन वर्देले चलचित्रको अधिकार खरिद गरेसँगै उनीहरु अर्जुन कपूरलाई चलचित्रमा मुख्य अभिनेताको भूमिकामा कास्ट गर्न चाहन्थे । 

अर्जुन कपूरले यस विषयमा भने, ‘यो कुरा त्यो तहसम्म नै पुगेन जहाँ म यो चलचित्रलाई रोज्न वा छोड्न सक्थे । जब अश्विन वर्दे र मुराद खेतानले चलचित्रको अधिकार खरिद गरे, त्यो बेला चलचित्रको लागि उनीहरुको दिमागमा म थिए । तर फिल्म निर्देशक सन्दीप रेड्डी वागाले शाहिदसँग भेटघाट गरिसकेका थिए । उनीहरुले चलचित्र पनि हेरिसकेका थिए । तसर्थ दुवैले एक साथ चलचित्रमा काम गर्ने निर्णय गरिसकेका थिए ।’ अश्विन र मुरादले यसअघि अर्जुन कपूरका साथ चलचित्र ‘मुवारकां’ बनाइसकेका थिए । 

अर्जुनले ‘कबिर सिंहलाई’ लिएर अगाडि भने, ‘चलचित्रलाई सन्दीप वागाको आवश्यकता थियो । चलचित्रमा बेग्लै खालकोे मजबुत शक्ति र पागलपन छ । यसमा सामान्य कहानी छ, तर यसलाई बनाउने तरिकामा पागलपन छ । निर्देशक सन्दीपले पहिले नै शाहिदलाई वचन दिइसकेका थिए । उनी आफ्नो वचन व्यर्थै जाओस् भनेर चाहँदैन थिए । जुन कुराको म सम्मान गर्छु । मेरा निर्माताहरु आफ्नो अधिकारलाई लिएर बसून् र आफ्नो अहंकारलाई लिएर मबिना चलचित्र नै नबनाऊन्, म यो चाहन्न ।’ 

अर्जुनले शाहिदको विषयमा भने, ‘चलचित्र युनिटको छनोट राम्रो थियो, उनले (शाहिदले) राम्रो काम गरे । तसर्थ फिल्मले २७५ करोड भारु कमायो ।’

अर्जुन कपूर यतिबेला उनको आगामी चलचित्र ‘पानीपत’ को तयारी गरिरहेका छन् । यो चलचित्रको निर्देशन आशुतोष गोवारिकरले गरिरहेका छन् । चलचित्रमा अर्जुन कपूरका साथै सञ्जय दत्त र कृति सेनन लगायतका कलाकार हुनेछन् । यस चलचित्रका साथै अर्जुन ‘संदीप के साथ पिंकी फरार’ मा काम गर्नेछन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया