त्रिकाेणात्मक टी-२० सिरिज : जिम्बाब्वेसँगकाे दोस्राे खेलमा नेपाल ४० रनले पराजित

 असोज १४, २०७६ मंगलबार २०:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर १२० रनमा रोकिन पुग्यो  ।

नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । इशान पाण्डेका ठाउँमा आज खेलेका पवर्न शर्राफ कप्तान पारस खड्कासँग ओपनिङमा आए पनि उनले खाता खोल्न सकेनन् ।

दोस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । ऐरीले ४ रनमात्रै जोड्न सके । तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का १२ रन जोडेर पेभेलियन फर्किए ।

खड्का आउट हुँदा ३३ रन बनाएको नेपालका लागि आरिफ शेख र विनोद भण्डारीले नेपालको पारी अघि बढाएका थिए । तर ५४ रन पुग्दा आरिफ शेख आउट हुन पुगे । आरिफले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाएका थिए । नेपालले पाँचौँ विकेटको रुपमा कुशल मल्ललाई ६२ रन हुँदा गुमाएको थियो ।

मल्लले ९ बलमा १ चौकाको मद्दतले ५ रन बनाएका थिए । सोमपाल कामी छैटौं विकेटको रुपमा ७ रन बनाएर आउट भएका थिए । नेपालका लगि विकेटकिपर ब्याट्सम्यान करण केसीले नेपालको स्कोर १ सय रन कटाएका थिए ।

१०६ रन हुँदा सातौं विकेटको रुपमा करण १८ रन बनाएर आउट भए । १० बल फेस गरेका करणले १ चौका र १ छक्का प्रहार गरेका थिए । १८ औं ओभरमा १११ रन रहेका बेला विनोद भण्डारी आउट भएपछि नेपालको झिनो आशा पनि सकिएको थियो । भण्डारीले ३३ बलमा ३५ रन बनाएका थिए ।  १८.५ ओभरमा सुसन भारी आउट हुँदा नेपालले ९ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

अन्तिमसम्म क्रिजमा रहेका सन्दीप लामिछाने र अविनाश बोहराले क्रमश: ५ र ३ रन बनाएर नट आउट रहे । २० ओभरमा नेपालले १२० रन बनाउँदा ९ विकेट गुमाएको थियो ।

जिम्बाब्वेका सिन विलियम्सले तीन विकेट लिएका थिए ।

सिंगापुरको इन्डियन एसोसियशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो ।

नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भयो । नेपालका लागि सन्दिप लामिछानेले जिम्बाब्वेको खाता नखुल्दै विकेट लिन सफल भए । जिम्बाब्वेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि ३० रनमा नेपालले दोस्रो सफलता हात पार्‍यो ।

सोमपाल कामीले रेगिसलाई मात्र ६ रनमा आउट भए । त्यसलगत्तै नेपालले तेस्रो विकेट लिए । सन्दीपले जिम्बाब्वेकाे स्कोर ३८ रन हुँदा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भए ।

जिम्बावेका पिटर मूर १४ रनमा आउट भए । चौथो विकेटका लागि कप्तान सिन विलियम्स र टिनोटेन्डाबीच ६० रनको साझेदारी भएको थियो । जसमा टिनोटेन्डालाई सोमपाल कामीले २० रनमा आउट भए । सोमपालको यो व्यक्तिगत दोस्रो विकेट हो ।

त्यसपछि जिम्बाब्वेका कप्तान सिनलाई पारस खड्काले ५३ रनमा आउट गरेपछि नेपालले पाँचौ सफलता हात पार्‍यो ।  त्यसबेला जिम्बाब्वेको स्कोर एक सय १२ रन थियो ।

जिम्बाब्वेका लागि रिचमन्डले १७ रन बनाए  भने र्‍यान बर्लले २८ रनको योगदान गरे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया