मेरो मस्तिष्कले फ्रान्स भन्छ, मनले क्रोएसिया

 असार ३१, २०७५ आइतबार १५:३७:३५ | एजेन्सी
unn.prixa.net

विश्वकप सुरु हुनुभन्दा अघि ब्राजिल, जर्मनी, अर्जेन्टिना र सम्भवत फ्रान्समध्ये एक टिम फाइनल पुग्छ भन्ने अनुमान गर्ने म एक जनामात्र थिइन होला । 

फ्रान्सले त फाइनलमा स्थान बनायो । तर, फाइनल पुग्ने टिमको प्रतिद्वन्द्वी क्रोएसिया हुन्छ भनेर कमैले मात्र अनुमान गरेका थिए ।

ज्लाट्को डालिचको टिमले यो विश्वकपमा कडा मेहनत गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।

लुका मोड्रिच, इभान राकिटिच र मारियो मान्जुकिचजस्ता स्टार खेलाडी भएपनि क्रोएसिया समूहमा विश्वास गर्ने टिम भएका कारण यहाँसम्म पुगेको हो । 

बायाँतर्फ इभान पेरिसिचको द्रुत गति र सिमे भ्रासाल्कोले राइट डिफेन्समा गरेको उत्कृष्ट प्रदर्शनले विपक्षी टिमलाई कुनै बेला पनि विश्रामको क्षण दिएन । 

त्यससँगै दुई वटा पेनाल्टी सुटआउटमा नायक बनेका गोलकिपर डानियल सुवासिचको प्रदर्शनलाई नजरअन्दाज गर्नु हुँदैन ।

खेलमा परम्परा र इतिहासले कुनै महत्व राख्दैन भन्ने देखाएको छ । रुस विश्वकपले एक्लो प्रयासमा खेल जितिँदैन भन्ने पनि प्रमाणित गरिदिएको छ । 

ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड, जर्मनी जस्ता टिम बाहिरिसकेको अवस्थामा क्रोएसिया अझै मैदानमा डटिरहेको छ । 

सन् १९९८ मा क्रोएसिया तेस्रो भएको थियो, तर त्यसपछि ठूला प्रतियोगितामा उ सँधै संघर्ष गरिरहेको छ ।

तर यो संस्करणमा उसले स्पस्ट रणनीति बनाएर अघि बढिरहेको छ । टिमका खेलाडीबीचको एकता क्रोएसिया टिमको सबैभन्दा बलियो पक्ष हो । 

उनीहरु व्यक्तिगत भन्दा पनि टिममा विश्वास गर्दै आएका छन् । 

मजबुत रक्षापंक्तिले अग्रपक्तिका खेलाडीलाई आक्रमण गर्न आत्मविश्वास प्रदान गरिरहेका छन् ।

आफ्नो विपक्षीको कमजोरीसँग राम्रोसँग परिचित भएकै कारण क्रोएसिया कमजोर क्षेत्रमा आक्रमण गर्दै आएको छ । र यो रणनीति प्रतियोगितामा सफल पनि हुँदै आएको छ । 

प्रशिक्षक डालिचले खेलको बीचमा नै खेलाडीसँगै रणनीति पनि परिवर्तन गर्दै आएका छन्, जुन निर्णय गर्न प्रशिक्षकहरु प्राय हिच्किचाउँछन् ।

क्रोएसिया टिमको कुरा गर्दा लुका मोड्रिचको प्रदर्शनलाई नजरअन्दाज गर्न मिल्दैन । 

एउटा मिडफिल्डरले गर्नुपर्ने शतप्रतिशत प्रदर्शन गर्न सफल हुँदै आएका  मोड्रिच निकै सरल र प्रभावकारी रुपमा देखा परे । 

टिमलाई कुनै पनि दबाब महसुस हुन नदिनका लागि मोड्रिचको भूमिका निकै महत्वपूर्ण थियो । स्टार मिडफिल्डर मोड्रिचको प्रदर्शन हामीले रियल मड्रिडमा समेत देखेका छौं ।

क्लबमा क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल र करिम बेन्जेमाको छायाँमा पर्दै आएका मोड्रिचले यो विश्वकपमा ठूलो मेहनत गरेका छन्, जसका कारणले उनले अपार प्रशंसा समेत बटुले ।

मोड्रिचको बारेमा कुरा गर्दा म एउटा उत्कृष्ट मिडफिल्डर सम्झन्छु जोसँग मैले धेरै पटक राष्ट्रिय टिमबाट खेलेको छु र अहिले पनि उनीसँग खेल्न पाउँदा आफुलाई भाग्यमानी ठान्छु । उनी फोर्मिगा हुन् । 

सुरुवातमा उनले डिफेन्सिभ मिडफिल्डमा खेलेकी थिइन् । तर उनी फरवार्डमा जान समेत भ्याउँथिन् । मैदानमा अगाडी बढ्ने बेला उनी निकै आक्रामक हुन्थिन् ।
मिडफिल्डर बन्न र एउटा उत्कृष्ट खेलाडी बन्नका लागि धेरै ‘स्किल’ हुनु जरुरी छ । 

मैले मेरो क्लब र देशका लागि खेल्दा उनको जस्तो क्षमता, सोच र कडा मेहनतका लागि दृढता भएको र आफ्नो पोजिसनका बारेमा हेक्का राख्दै विपक्षीमा नजर कायम गर्ने खेलाडी देखेको छैन । 

उनमा एउटा मिडफिल्डरमा हुनुपर्ने सम्पूर्ण क्षमता थियो ।

इंग्ल्याण्डविरुद्ध जित हात पारेपछि मोड्रिचसँगै अन्यले पनि इंग्लिस मिडियाको उद्धण्ड पवृत्तिका कारण जित्नै पर्छ भन्ने दृढता र शक्ति संचार भएको प्रतिक्रिया दिएका थिए ।

आलोचना अरुलाई ‘उडाउन’का लागि गरिएला तर यसले विभिन्न मानिसलाई विभिन्न तरिकाले प्रभाव पार्छ । 

पेनाल्टीसम्म पुगेको दुईवटा खेल पार गरेर इंग्ल्याण्डविरुद्ध सेमिफाइनल पुग्दा क्रोएसिया थाकेको छ र इंग्ल्याण्डसँग ‘फाइट’ पनि गर्न सक्दैन भनेर आलोचना गरिएको थियो । 

तर त्यो आलोचनाले क्रोएसियालाई प्रेरणाको काम गर्‍यो । हामीले देख्यौं पनि कि प्रत्येक खेलाडीले आफ्नो पूरा शक्ति लगाएर इंग्ल्याण्डविरुद्ध खेले ।

कसैको प्रतिक्रियाले मैदानमा यतिको शक्ति दिन्छ भन्ने कुरा असम्भव पनि हैन । व्यक्तिगत रुपमा नै मैले पनि यस्तो अनुभव गरेको छु । 

जति म आलोचित हुन्छु, आलोचना गर्नेहरुलाई गलत सावित गर्नका लागि म त्यति नै प्रयासरत रहन्छु । आलोचनाले मलाई पनि एक प्रकारको शक्ति प्रदान गर्छ ।

कसैले अन्तरवार्तामा नसोधेसम्म आलोचनाको उत्तर दिनमा समय खर्च गर्दिन । बरु मैदानबाट उत्तर दिन्छु । मेरो विचारमा सफल खेलाडीका लागि आलोचना एउटा सामान्य कुरा हो । 

एउटा खेलाडीले आलोचना झेलेर बाँच्न सक्नुपर्छ र त्यसबाट लाभ लिन सक्नु पर्छ ।

क्रोएसियाले उपाधिका लागि फ्रान्सको सामना गर्दैछ, जुन टिममा यो प्रतियोगिताकै एक उत्कृष्ट युवा खेलाडी केलियन एमबाप्पे छन् । 

१९ वर्षे एमबाप्पेको क्षमता र अद्भुत गति रोक्न क्रोएसियालाई निकै अप्ठेरो हुन्छ । जसबाट फ्रान्स बलियो स्थितिमा पनि छ ।

फ्रान्सको युवा टिम तुलनात्मक रुपमा क्रोएसियाभन्दा केही बलियो छ । तर तपाईँलाई थाहा छ ? म मेरो अनुमान गलत होस भन्ने चाहन्छु । 

म क्रोएसियाको पक्षमा छु किनभने प्रतियोगिताभर उनीहरुले गरेको मेहनतका कारण उनीहरु उपाधिको हकदार छन् । नयाँ टिमले उपाधि जितोस भन्ने चाहन्छु ।

 

(मार्ता ब्राजिलकी महिला फुटबलर हुन् । ब्राजिलका लागि १०० गोल गरिसकेकी मार्ता सर्वकालीन महिला फुटबलरका रुपमा परिचित छिन् । महिला विश्वकप फुटबलमा सर्वाधिक १५ गोल गर्ने कीर्तिमान पनि उनकै नाउँमा छ । उनी ५ पटक महिला वर्ष खेलाडीका रुप घोषित भइसकेकी छिन् ।)

द गार्जियन को सहयोगमा

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया