कार्यविधि अभावमा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतका कार्यालयहरु कामविहीन

 असोज १७, २०७६ शुक्रबार ६:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – प्रदेश सरकारले बजेट कार्यान्वयन कार्यविधि समयमै नपठाउँदा प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका कार्यालयहरु कामविहीन बनेका छन् । 

आर्थिक वर्ष सुरु भएको तीन महिना पुग्नै लाग्दासमेत कार्यविधि नहुँदा बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ । प्रदेश सरकार मातहतका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु अहिले कार्यविधि पर्खेर बसिरहेका छन् । 

प्रदेश सरकार मातहतका यी कार्यालयहरुमा चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा बजेट, नीति तथा कार्यक्रम आएका छन् तर आर्थिक वर्ष सुरु भएको तीन महिना पुग्नै लाग्दा मन्त्रालयबाट बजेट कार्यान्वयन कार्यविधि नआउँदा कुनै काम हुन नसकेको कार्यालयको भनाइ छ । 

‘बजेट तथा कार्यक्रम त आयो तर कार्यविधि नआउँदा कुनै काम हुन सकेको छैन’ कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख नरेश धितालले भन्नुभयो, ‘अहिले कुनै काम गर्न सक्ने अवस्था नै छैन’ ।

जुनसुकै कार्यक्रम सञ्चालनका लागि पनि कार्यविधि आवश्यक पर्ने भएकाले अहिले को–कोसँग कसरी सहकार्य गरेर काम गर्ने भन्नेमा नै अन्योल रहेको धितालले बताउनुभयो । 

मन्त्रालयबाट व्यावसायिक बाख्रापालन क्षेत्र विस्तार, सुन्तला तथा कागती खेती विस्तार, केरा खेती क्षेत्र विस्तार, नवीनतम प्रविधिमा आधारित साना सिँचाइ आयोजना लगायतका कार्यक्रमहरु जिल्लामा आएका छन् । तर समयमै कार्यविधि नआउँदा कार्यक्रम कार्यान्वयनमा अन्योल बढेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया