टिकट अनुसारकाे बस नपाएपछि खुलामञ्चमा ताेडफाेड, अस्थाई रेलिङ भाँचियाे

 असोज १८, २०७६ शनिबार ८:३१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – दशैं मनाउन २० लाख बढी मानिस काठमाण्डौबाट बाहिरिएका छन् । शनिबारदेखि सरकारी कार्यालय बिदा भएकाले धेरै जना शुक्रबार बेलुका र शनिबार बिहान घर गएका छन् । 

शनिबार तीन ३ लाखको हाराहारीमा यात्रु बाहिरिने सम्भावना रहेको यातायात व्यवसायीले बताएका छन् । गएको २४ घण्टामा दुई लाख ९६ हजार ६ सय ९२ जना काठमाण्डौबाट बाहिरिएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुका लागि बसको समस्या नहुने दाबी गरेको छ । शनिबार धेरै मानिस बाहिरिने भएकाले बस व्यवस्थापन गरेको महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । 

तर यात्रुले भने टिकट र सिट पाउन समस्या भएको गुनासो गर्दै आएका छन् । टिकटअनुसार बस नपाएको भन्दै काठमाण्डको खुलामञ्चमा यात्रुले तोडफोड गरेका छन् । खुलामञ्चमा राखिएको अस्थाई रेलिङ पनि भाँचिएको छ । शनिबार बिहान यात्रुले नाराबाजी गर्दै आफूहरुलाई दुःख दिएको भन्दै तोडफोड गरेका थिए । 

अहिले यात्रुलाई सम्झाएर अवस्था सामान्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

यसैबीच दशैँका लागि गृह जिल्ला जाने यात्रुको संख्या बढेसँगै काठमाण्डौमा चहलपहल कम हुँदै गएको छ । काठमाण्डौ उपत्यकामा चल्ने गाडीको संख्या पनि कम भएको छ । उपत्यकामा चल्ने धेरैजसो गाडीले पनि यात्रु ओसार्न थालेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया