नेकपा र सरकारकाे अग्निपरीक्षा सुरू भएकाे छ, मूल्यांकन जनताले गरेका छन् : नेता नेपाल

 असोज १८, २०७६ शनिबार १७:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्यांकन नेपाली जनताले गरिराखेको बताउनुभएको छ । 

शनिबार पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता नेपालले सबै नेपालीलाई सुखी बनाउने र सबैको अनुहारमा हाँसो ल्याउने योजनाका साथ काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । 

नेकपा र सरकार यतिबेला अग्नि परीक्षामा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘अहिले सरकार र नेकपाको अग्निपरीक्षा सुरु भएको छ । वडा, नगर, प्रदेशदेखि केन्द्रसम्ममा भएको कामको जनताले मूल्यांकन गरिरहेका छन् ।’

नेता नेपालले दुई तिहाइको सरकारले गरिरहेको कामको परिणाम आउँदो मंसिर १४ गते हुने उपचुनावले देखाउने बताउँदै उहाँले अधिकांश नेकपाका नेताहरुले जितेको स्थानमा उपचुनाव हुने भएकाले ती ठाउँहरुमा आफ्नो शान जोगाउनुपर्ने चुनौती रहेको बताउनुभयो । 

नेता नेपालले ‘हिजो के भएको थियो भन्नुभन्दा पनि अहिले के गर्ने हो’ त्यसको योजना बनाएर काम गर्नुपर्छ भन्दै काम गर्दा कमी-कमजोरी भए स्वीकार गर्ने र सुधार गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई खुशी पार्ने ढंगबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकार र नेकपामाथि आलोचना गर्नेहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘अरुलाई हिलो छ्याप्नु, अरुको घरमा ढुङ्गा हान्नुभन्दा पहिला आफूलाई हेर्नुस्, आफूले के गरे, भन्ने आफैँ समीक्षा गर्नुस् ।’

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अहिलेकै पुँजीवादी कार्यशैलीबाट समाजवादतर्फ उन्मुख हुन नसकिने भएकाले पुँजीवादी चरित्र र सामन्तवादको अन्त्य अपरिहार्य भएको बताउनुभयो ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष ध्रुवराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज दिलिप प्रजापति, केन्द्रीय सदस्य तथा भक्तपुरका सह–इञ्चार्ज सोम मिश्र लगायतले दुई तिहाइ सरकारसँग जनताका अनेकौँ अपेक्षा भएकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्य गर्नुपर्ने चुनौती रहेको धारणा राखेका थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया