मासु कति खाने? : शरीरले धान्नेजति मात्रै खान पाेषणविद्काे सुझाव

 असोज १९, २०७६ आइतबार ११:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – पोषणविद्ले मासुलगायत खानेकुरा खाँदा धेरै कुरामा ख्याल गर्न सुझाव दिएका छन् । विशेषगरी दशैँका बेला मासुलगायत खानेकुरा धेरै खाइने हुँदा पकाउने र खाने तरिकामा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । 

चिल्लो कम राखेर मासु पकाउने तरिका अपनाउन डाक्टरले सुझाव दिएका छन् । चिल्लोका कारण स्वास्थ्यमा असर गर्ने भएकोले चिल्लो कम राखेर पनि मासुलाई मिठो बनाउन सकिने पोषणविद् उमा कोइरालाले बताउनु भयो । 

उहाँले मासु खाँदा स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने भन्दै जथाभाबी मासु नखान आग्रह गर्नुभएको छ । मासुलाई राम्रोसँग पकाएर आफ्नो शरीरले धान्नेजति मात्रै खान सके शरीरलाई फाइदा गर्ने उहाँले बताउनुभयो । 

मासु खाएको समयमा शारीरिक व्यायाम पनि गर्नुपर्ने डाक्टरहरुको सुझाव छ । यस्तै मासु खाएको बेलामा जाँडरक्सी नखान पनि पोषणविद् कोइरालाले सुझाव दिनुभएको छ । 

मासु कसरी छान्ने ?

मासु किन्दा स्वच्छ छ कि छैन भनेर छुट्याउन सकेको खण्डमा यसबाट बच्न सक्ने पशुसम्बन्धी डाक्टरहरु बताउँछन् । 

मासु पकाइसकेपछि संक्रमित मासु पनि खान योग्य हुन्छ । भान्सामा कुखुरा वा अन्य जनावरको मासु धोइपखाली नगर्ने तथा पकाउने भाडाकुँडा औजार अचानोहरू अन्य खाले तरकारीजन्य सामग्री तयार गर्न प्रयोग नगर्नु नै वेश हुन्छ । 

संक्रमित मासु र स्वच्छ पशुपंक्षीको मासु सोझै छुट्याउन सकिन्छ । बर्ड फ्लूले संक्रमित कुखुराको मासुमा रगतका थोप्लाहरु देखिन्छ । त्यस्तै निलो भएका, सिउर र खुट्टामा नीलडाम देखिएकालगायत फरक लक्षण भएका कुखुराको मासु उपभोग गर्न नहुने पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेको सुझाव छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया